बजेटको १६ पेज ‘गायब’ पारेर करका दर हेरफेर गरेको आरोपमा अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि छानबिन गर्न राष्ट्रिय सभाका सांसदहरूको माग

काठमाडौँ, २६ जेठ । राष्ट्रिय सभाका सदस्यहरूले आगामी आर्थिक वर्षको बजेटमा करका दरहरू अनधिकृत रूपमा हेरफेर गरिएको आरोप लगाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न माग गरेका छन् ।

मंगलबार बसेको सभाको बैठकमा सांसदहरूले आर्थिक विधेयकको महत्वपूर्ण पानाहरू गायब पारिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका हुन् । बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सांसद तुलप्रसाद विश्वकर्माले बजेट सार्वजनिक भएको २४ घण्टा नहुँदै विधेयकमा छेडखानी गरिएको दाबी गरे । “आर्थिक विधेयक सदनमा प्रस्तुत गरिसकेको २४ घण्टा नहुँदै विधेयकको १६ पेज गायब गरेर अर्को विधेयक निकालिएको विषय सार्वजनिक भइरहेको छ,” उनले भने, “यो अत्यन्तै गम्भीर विषय हो, यसमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ ।”

सांसद रेनु चन्दले अर्थमन्त्री डा. वाग्लेले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करको दरमा हेरफेर गरेको आरोप लगाइन् । उनले यो विषय वित्तीय अपराधको श्रेणीमा पर्ने भन्दै तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिइन् ।
विपक्षी सांसदहरूले बजेटको गोपनीयता भङ्ग गरिएको र संसदमा पेश भइसकेको दस्तावेजमा अनाधिकृत रूपमा हेरफेर गर्नु संसदीय मर्यादाविपरीत भएको बताएका छन् ।

बैठकमा करका दर मात्र नभई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल–भारत सम्बन्धका विषयमा दिएको पछिल्लो अभिव्यक्तिलाई लिएर पनि प्रश्न उठाइएको छ । सांसदहरू नारायणदत्त मिश्र र मीनासिंह रखालले प्रधानमन्त्रीको अभिव्यक्तिले कुटनीतिक मर्यादा नाघेको भन्दै यसबारे प्रधानमन्त्रीले नै सदनमा उभिएर जवाफ दिनुपर्ने माग गरे ।

सांसदहरूको विरोध र मागका कारण सभाको वातावरण केही बेर तनावपूर्ण बनेको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही जेठ २८ गते अपराह्न १ः०० बजे बस्ने गरी स्थगित गरिएको छ ।