रातो मच्छिन्द्रनाथको फूलप्रसाद कीर्तिपुरकी ‘याकः मिसा’लाई हस्तान्तरण, असार ३ गते अन्तिम रथयात्रा

ललितपुर, ३१ जेठ । ललितपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको रातो मच्छिन्द्रनाथको फूलप्रसाद कीर्तिपुरको प्यंगःथामा रहेकी ‘याकः मिसा’लाई हस्तान्तरण गरिएको छ। आज बिहान मच्छिन्द्रनाथको प्रतिनिधित्व गर्दै पानेजु (पुजारी) हरूको टोलीले कीर्तिपुर पुगेर उक्त प्रसाद हस्तान्तरण गरेको हो।

मच्छिन्द्रनाथको रथ राखिएको ललितपुरको इति टोलबाट पानेजुहरूको टोली परम्परागत नियमअनुसार खाली खुट्टा पैदल हिँडेर कीर्तिपुर पुगेको थियो। सांस्कृतिक मान्यताअनुसार कीर्तिपुरकी रैथाने महिला ‘याकः मिसा’लाई रातो मच्छिन्द्रनाथको जीवित प्रेमिका मानिँदै आइएको छ। सोही पौराणिक सम्बन्धलाई निरन्तरता दिँदै प्रत्येक वर्ष मच्छिन्द्रनाथका तर्फबाट पुजारीहरूले फूलप्रसाद लैजाने परम्परा रहेको छ।

संस्कृतिविद्हरूका अनुसार रथयात्राका क्रममा मच्छिन्द्रनाथको मन कीर्तिपुरकी प्रेमिकामा अल्झिएर रथ तान्न अवरोध नहोस् र जात्रा शान्तिपूर्वक सम्पन्न होस् भन्ने कामनासहित यो विधि पूरा गरिने जनविश्वास छ। कीर्तिपुर पुगेको पुजारी टोली र प्रसादलाई आज स्थानीय बासिन्दा तथा गुठियारहरूले परम्परागत बाजागाजासहित स्वागत गरेका थिए।

यसैबीच, यस वर्षको रातो मच्छिन्द्रनाथको अन्तिम रथयात्रा आगामी असार ३ गते बुधबार हुने भएको छ। ‘पश्चिम यात्रा’ भनिने उक्त रथयात्रा रथलाई इति टोलबाट तानेर जावलाखेल पुर्‍याएपछि समाप्त हुनेछ। जावलाखेल पुगेको चौथो दिनमा प्रसिद्ध भोटो जात्रा देखाइनेछ भने त्यसपछि मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुङ्गमती प्रस्थान गराएसँगै यस वर्षको जात्रा विधिवत् रूपमा समापन हुने गुठी संस्थान ललितपुरले जनाएको छ।