काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन आह्वान, १ हजार ५७६ सिट रिक्त
काठमाडौँ, ४ असार । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति पाउनबाट छुटेका विद्यार्थीहरूलाई लक्षित गर्दै पुनः आवेदन खुला गरेको छ। महानगरपालिकाले पहिलो र दोस्रो चरणको मनोनयन सूची (म्याचिङ लिस्ट) मा पर्न नसकेका विद्यार्थीहरूका लागि अन्तिम चरण (र्यापअप) को नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।
महानगरपालिकाका शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार यस वर्ष महानगरभित्रका १४५ वटा संस्थागत शिक्षण संस्थाहरूमा कुल ४ हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरिएको थियो। तीमध्ये पहिलो सूचीबाट ३ हजार ५१ जना र दोस्रो सूचीबाट २३० जना गरी कुल ३ हजार २८१ विद्यार्थी भर्ना भइसकेका छन्। बाँकी रहेका १ हजार ५७६ रिक्त कोटाका लागि योग्यताक्रममा रहेका इच्छुक विद्यार्थीहरूलाई विषय र शिक्षण संस्थाको प्राथमिकताक्रम छनोट गर्न पुनः अवसर प्रदान गरिएको हो।
अन्तिम चरणको भर्नाका लागि अनलाइन आवेदन बिहीबार बिहान १०ः०० बजेदेखि खुला भइसकेको छ। इच्छुक विद्यार्थीहरूले आगामी असार ८ गते साँझ ५ः०० बजेभित्र आवेदन दिइसक्नुपर्नेछ।
विद्यार्थीले महानगरपालिकाको छात्रवृत्तिसम्बन्धी अनलाइन पोर्टलमा आफ्नो सिम्बोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी यसअघि छनोट गरेको विषय परिवर्तनसमेत गरेर पुनः आवेदन (रि-अप्लाई) गर्न सक्नेछन्। यस चरणको अन्तिम मनोनयन विद्यार्थीहरूको एकमुष्ट योग्यताक्रम (ओभरअल मेरिट) र उनीहरूको प्राथमिकताक्रमका आधारमा गरिनेछ।
शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार गत जेठ १७ गते लिइएको छात्रवृत्ति परीक्षाको नतिजाका आधारमा पहिलो चरणमा विज्ञान विषयमा १ हजार ९०१, व्यवस्थापनमा १ हजार १११, कानुनमा ३४ र मानविकीमा ५ जना विद्यार्थी भर्ना भएका थिए।
पहिलो चरणमा रिक्त रहेका सिटहरूमा दोस्रो सूचीअन्तर्गत ४८६ जना सिफारिस गरिएकामा २३० जना भर्ना भएका थिए। परीक्षा समितिका अनुसार परीक्षाको नतिजामा चित्त नबुझाई ३३१ परीक्षार्थीले पुनर्योग (रिटोटलिङ) का लागि आवेदन दिएका थिए, जसको ओएमआर उत्तरपुस्तिका कम्प्युटर र म्यानुअल दुवै विधिबाट पुनः परीक्षण गरिएको थियो।