बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा

एजेन्सी, ८ असार । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालमै पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। नीतिगत अस्थिरता र जनस्तरमा बढ्दो अलोकप्रियताका बीच उहाँले सोमबार सत्तारुढ लेबर पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो।

लन्डनस्थित प्रधानमन्त्री निवास ‘१० डाउनिङ स्ट्रिट’ बाहिर देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री स्टार्मरले आफूले कार्यकालमा चालेका सबै कदमहरू देशको हितलाई केन्द्रमा राखेर चालिएको दाबी गर्नुभयो। “मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएका थिए। त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु,” उहाँले भावुक हुँदै भन्नुभयो।

प्रधानमन्त्री स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाई महिनामा सुरु हुनेछ। संसद्‌मा नयाँ दलको नेता छनोट नभएसम्म उहाँ कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारीमा रहनुहुनेछ। नयाँ नेता आगामी सेप्टेम्बर महिनाभित्र चयन भइसक्ने अपेक्षा गरिएको छ।

सन् २०२४ मा भएको आमनिर्वाचनमा लेबर पार्टीलाई ऐतिहासिक जित दिलाउँदै स्टार्मर बेलायतको प्रधानमन्त्री बन्नुभएको थियो। तर, सत्ता सम्हालेलगत्तै महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा गर्नुपरेको नीतिगत परिवर्तन (यू-टर्न) र तीव्र रूपमा घटेको जनसमर्थनका कारण उहाँको कार्यकाल छोटो समयमै चुनौतीपूर्ण बन्न पुगेको थियो।