हालान्ड चम्किँदा २८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा

काठमाडौं, असार ९ — एर्लिङ हालान्डको दुई गोल प्रेरित प्रदर्शनमा नर्वेले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा सेनेगललाई ३–२ ले पराजित गर्दै नकआउट चरण (अन्तिम ३२) मा स्थान सुरक्षित गरेको छ।

न्युयोर्क/न्युजर्सी स्टेडियममा सोमबार राति भएको खेलमा हालान्डले दोस्रो हाफमा दुई गोल गर्दै नर्वेको जित पक्का गरेका हुन्। नर्वेका लागि मार्कुस होल्मग्रेन पेडर्सेनले एक गोल थप्दा सेनेगलका इस्माइला सारले दुई गोल फर्काए।

खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक बनेको थियो। ४३औँ मिनेटमा सेनेगलका कप्तान कालिडु कुलिबालीको रक्षात्मक गल्तीको फाइदा उठाउँदै पेडर्सेनले गोल गरेपछि नर्वेले अग्रता बनाएको थियो।

दोस्रो हाफ सुरु भएको तीन मिनेटमै मार्टिन ओडेगार्डको उत्कृष्ट पासलाई सदुपयोग गर्दै हालान्डले गोल गरे र नर्वेको अग्रता दोब्बर बनाए। ५३औँ मिनेटमा सारले सेनेगलका लागि एक गोल फर्काए पनि पाँच मिनेटपछि हालान्डले नजिकको दूरीबाट अर्को गोल गर्दै नर्वेलाई ३–१ को बलियो अवस्थामा पुर्‍याए।

इन्जुरी समयको तेस्रो मिनेटमा सारले व्यक्तिगत दोस्रो गोल गरेपछि सेनेगलले खेलमा फर्कने प्रयास गरेको थियो। तर त्यसपछि थप गोल निस्कन नसक्दा नर्वे ३–२ को विजेता बन्यो।

यस जितसँगै नर्वेले लगातार दोस्रो जित निकाल्दै ६ अंकका साथ अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। समूह ‘आई’ मा फ्रान्स पनि समान ६ अंकसहित शीर्ष स्थानमा छ भने सेनेगल र इराक अंकविहीन रहेका छन्।

हालान्डले विश्वकपका पहिलो दुई खेलमै चार गोल गरेका छन्। यससँगै उनी गोल्डेन बुटको दौडमा लियोनल मेस्सी र किलियन एम्बाप्पेसँग प्रतिस्पर्धामा रहेका छन्।

खेलपछि प्रतिक्रिया दिँदै हालान्डले विश्वकपमा लगातार राम्रो प्रदर्शन गर्न पाउँदा गर्व लागेको बताए। उनी खेलको ‘सुपेरियर प्लेयर अफ द म्याच’ समेत घोषित भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *