कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका रोकायको गोताखोर टोलीबाट खोजी जारी
काठमाडौं, ९ असार । दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपािलका–७ पाल्तडा (ताराबजार) नजिकै कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका व्यक्तिको सशस्त्र प्रहरी बल नेपालको गोताखोरले खोजी जारी राखेको छ । असार २ गते मुगुबाट सुर्खेततर्फ जाने क्रममा कर्णाली प्रदेश ०२–००१ क ०७८० नबरको मिनि ट्रक ताराबजार नजिकै रोकी नदीमा नुहाउने क्रममा सह–चालक डोल्पा जिल्लाको जगदुल्ला गाउँपािलका– ३ बस्ने २४ वर्षीय नवीन रोकाय नदीमा डुवेर बेपत्ता हुनुभएको थियो।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा वेश दैलेखबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोली, नेपाल प्रहरी र आफन्तहरुले खोजीकार्य गरिरहेकोमा थप मद्धतको लागि सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोर परिचालन गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
‘खोजी कार्यलाइ प्रभाबकारी बनाउनको लागि असार ८ गते विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमाण्डमा सोनार क्यामरा र अण्डर ड्रोन क्यामरासहित गोताखोर र विपद् व्यवस्थापन तालिम प्राप्त टोली समेत परिचालन गरिएको छ,’ थापाले भन्नुभयो ।