सिन्धुपाल्चोकमा २ करोड ६९ लाख मूल्य बराबरको अवैध भेपसहित एक जना पक्राउ

सिन्धुपाल्चोक, ९ असार । सिन्धुपाल्चोक प्रहरीले चीनसँगको उत्तरी नाका तातोपानी हुँदै अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) सहित एक जनालाई पक्राउ गरेको छ। बाह्रबिसे नगरपालिका–३ खाग्दलबाट जुगल गाउँपालिका–४ का ३६ वर्षीय रामकुमार श्रेष्ठलाई २ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरको अवैध भेपसहित नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार विशेष सूचनाका आधारमा तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा०३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडीलाई रोकेर जाँच गर्ने क्रममा उक्त अवैध सामाग्री फेला परेको हो। बोलेरोको पछाडिको भागमा लुकाएर ल्याइएका विभिन्न ब्रान्डका कुल ७ हजार ७०० थान विद्युतीय चुरोट (भेप) प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) जेसी शाहले बरामद गरिएका सामग्री र पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको जानकारी दिनुभयो। भन्सार छली तथा अवैध ओसारपसारसम्बन्धी थप कानुनी कारबाही भन्सार कार्यालयमार्फत अघि बढाइने प्रहरीले जनाएको छ।