उत्तरी युरोपमा दुई शक्तिशाली आँधीको वितण्डा: १५०,००० भन्दा बढी घरमा बिजुली ठप्प, एक जनाको मृत्यु

काठमाडौँ। उत्तरी युरोपमा एकैसाथ आएका दुई शक्तिशाली आँधीका कारण एक जनाको मृत्यु भएको छ भने १ लाख ५० हजारभन्दा बढी घरपरिवार अन्धकारमा परेका छन्। २४ घण्टाको अन्तरमा आएका ‘बोएलो’  र ‘ओस्टेन’  नामका आँधीका कारण हवाइ सेवा, रेलमार्ग तथा दूरसञ्चार सेवा क्षेत्र नराम्ररी प्रभावित भएका छन्।

सम्बन्धित देशका अधिकारीहरूका अनुसार आँधीका कारण बेलायतका ८२ हजार, फ्रान्सका करिब ६० हजार र जर्मनीका १० हजारभन्दा बढी घरमा विद्युत आपूर्ति ठप्प भएको छ।

दक्षिण-पश्चिम स्कटल्याण्डमा रूख ढल्दा ६० वर्षीय एक पुरुषको मृत्यु भएको छ भने मध्य स्कटल्याण्डमा रूखले किचेर दुई जना महिला घाइते भएका छन्। स्कटल्याण्डको पश्चिमी तटीय क्षेत्रमा प्रतिघण्टा १३५ किलोमिटरको गतिमा हावाहुरी चलेको मापन गरिएको छ। तीव्र गतिमा चलेको हुरीका कारण रूख र बिजुलीका पोलहरू ढल्दा बेलायतका धेरैजसो सडक तथा रेलमार्ग अवरुद्ध भएका छन्।

यस्तै, फ्रान्समा आँधीका कारण शनिबार एकैपटक २ लाख ८८ हजारभन्दा बढी घरमा बिजुली गएको थियो, जसमध्ये आइतबार मध्याह्नसम्म Normandy र Brittany क्षेत्रका ५९ हजार घर अझै अन्धकारमै रहेका छन्। उत्तर फ्रान्समा म्याराथन दौडिरहेका एक धावक ढलेको रूखले लाग्दा सामान्य घाइते भएका छन्।

जर्मनीको फ्राइबर्ग क्षेत्रमा १० हजार घरमा विद्युत सेवा अवरुद्ध हुनुका साथै मोबाइल नेटवर्कसमेत प्रभावित भएको छ। त्यहाँको मुख्य अस्पतालले विद्युत कटौतीका कारण आकस्मिक सेवामा मात्र सीमित हुनुपरेको जनाएको छ। जर्मनीको नास्टाटेनमा आँधीले बजारको अस्थायी संरचना (Scaffolding) उडाउँदा दुई जना गम्भीर घाइते भएका छन्।

यस्तै, नेदरल्याण्ड्स र बेल्जियममा पनि आँधीले क्षति पुर्‍याएको छ। बेल्जियमको ब्रसेल्समा रूख ढलेर चार जना घाइते भएका छन् भने नेदरल्याण्ड्सको समुद्री क्षेत्रमा एउटा मालवाहक जहाजका तीन जना क्रू-मेम्बर घाइते भएका छन्।

आँधीका कारण युरोपका प्रमुख विमानस्थलहरूमा सयौँ उडानहरू रद्द वा मोडिएका छन्। जलवायु परिवर्तनका कारण यस्ता extreme weather घटनाहरू बढ्दै गएको वातावरणविद्हरूले चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *