साउदी अरेबियामा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं, १० कात्तिक । साउदी अरेबियामा पछिल्लो समय सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले आवश्यक कामबाहेक अनावश्यक रूपमा घरबाहिर ननिस्कनसमेत अनुरोध गरेको छ।

दूतावासले सूचना जारी गर्दै सुरक्षा चेतावनी जारी भएका क्षेत्र तथा समयमा विशेष सावधानी अपनाउन र सम्बन्धित आधिकारिक निकायका निर्देशन मात्र पालना गर्न आग्रह गरेको हो।

त्यस्तै, सामाजिक सञ्जालमा भ्रामक, अपुष्ट वा उत्तेजक तस्बिर तथा भिडियो पोस्ट गर्ने र सेयर नगर्न पनि दूतावासले नेपाली नागरिकलाई सचेत गराएको छ।

हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई आफ्नो उडानको तालिका परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र यात्रामा निस्कन आग्रह गरिएको छ।

कुनै समस्या वा आपत्कालीन अवस्था आएमा रियादस्थित नेपाली राजदूतावास तथा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा फोन वा इमेलमार्फत सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।

साउदी अरेबियामा करिब चार लाख नेपाली श्रमिक कार्यरत रहेको बताइएको छ। रोजगारीका लागि हरेक वर्ष नेपालबाट करिब ९० हजार नेपाली साउदी अरेबिया जाने गरेको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *