कम्युनिष्ट आन्दोलनलाई फेरि उचाइमा पुर्याउने मदन भण्डारी फाउन्डेशनको प्रयास, चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा ल्याउँदै
काठमाडौं, १३ असार । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै नेपालको कम्युनिष्ट आन्दोलनलाई नराम्रो धक्का लागेको थियो । पटक–पटकका अवसरलाई समेत राम्रो सदुपयोग गर्न नसक्दा रक्षात्मक बनेको कम्युनिष्ट आन्दोलनको भविष्य नै अन्योलग्रस्त बनिरहेका बेला सबै कम्युनिष्टहरुलाई एउटै मञ्चमा उम्याउने गरी मदन भण्डारी फाउन्डेसनले राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल मात्रै होइन कम्युनिष्ट पृष्ठभूमिकै उपेन्द्र यादव पनि एउटै मञ्चमा देखिनु हुने भएको छ । मदन भण्डारीको ७५ औँ जन्मोत्सवको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको सो कार्यक्रम काठमाडौँको राष्ट्रिय सभागृहमा हुँदैछ ।
‘नेपालको कम्युनिस्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह’ नाम दिइएको सो कार्यक्रममा ओली, प्रचण्ड, नेपाल र खनाल र यादव एउटै मञ्चमा जेनजी आन्दोलनपछि पहिलो पटक देखिन लाग्नु भएको हो । मञ्चमा प्रमुख अतिथिका रुपमा विद्या भण्डारी पनि रहनु हुनेछ ।
नेकपा हुँदा दुइतिहाई नजिक ल्याएर सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको कम्युनिष्ट पार्टी सत्ताको लुछाचुँडीका कारण विभाजित हुँदा जनताको आकर्षण पनि कम्युनिष्ट प्रति घट्दै गएको छ । संयोग कस्तो भने टुट, फुट र विभाजनको भुँमरीले अन्योलमा परेको कम्युनिष्ट आन्दोलनलाई फेरि उर्जा भर्ने गरी तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसर पारेर फाउन्डेशनले नयाँ प्रयासको थालनी गरेको छ ।
२०५० जेठ ३ को दासढुङ्गा दुर्घटनामा मदनसँगै जीवराज आश्रितको पनि देहान्त भएको थियो । मदकै जन्म जयन्तीका अवसरमा मदनबारे नेताहरूले चर्चा गर्नुका साथै पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि हरनु हुनेछ ।