‘यो इतिहास हो, अब बिना दबाब खेल्छौं’ – जितपछि प्रतिक्रिया दिँदै हालान्ड

फिफा विश्वकप २०२६ मा ऐतिहासिक सफलता हात पारेपछि नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले वर्तमान उपलब्धिलाई ‘अद्भूत’ को संज्ञा दिएका छन् । २८ वर्षको लामो पर्खाइपछि विश्वकपमा फर्किएको नर्वेले पहिलोपटक नकआउट चरणमा जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेपछि हालान्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

राउन्ड अफ ३२ अन्तर्गत भएको निकै प्रतिस्पर्धात्मक खेलमा आइभरी कोष्टलाई २–१ गोल अन्तरले पराजित गर्दै नर्वेले नयाँ इतिहास रचेको हो । खेल १–१ को बराबरीमा रहेको अवस्थामा हालान्डले नै निर्णायक गोल गर्दै टोलीलाई अन्तिम १६ को यात्रा तय गराएका थिए । जारी विश्वकपमा हालान्डको यो व्यक्तिगत पाँचौं गोल हो ।

‘यो इतिहास हो, अब बिना दबाब खेल्छौं’
ऐतिहासिक जितपछि प्रतिक्रिया दिँदै हालान्डले यो क्षण नर्वेली फुटबलका लागि अविश्वसनीय रहेको बताए । उनले भने, “यो इतिहास हो, यो अद्भूत महसुस भइरहेको छ । हामी २८ वर्षपछि विश्वकपमा छनोट मात्र भएनौं, समूह चरण पार गरेर अर्को चरणमा पुग्न सफल भएका छौं ।”

नर्वेले अब अन्तिम १६ को खेलमा न्युयोर्कमा विश्व फुटबलको पावरहाउस ब्राजिलको सामना गर्नेछ । उक्त भिडन्तका बारेमा चर्चा गर्दै हालान्डले अब आफूहरूमाथि कुनै दबाब नरहेको प्रष्ट पारे । “हामीले यहाँसम्म आइपुगेर जे हासिल गर्यौं, त्यो आफैंमा ठूलो कुरा हो । त्यसैले अब जे हुन्छ त्यो हाम्रा लागि बोनस जस्तै हो । अब हामी बिना कुनै दबाब आनन्दका साथ मैदान उत्रनेछौं किनभने मलाई लाग्दैन कि यस्तो विशेष अनुभूति हामीले फेरि कहिल्यै पाउनेछौं,” उनले थपे ।

कठिन यात्रा र हालान्डको जादु
नर्वेले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अघि बढेको थियो । नकआउट चरणको पहिलो खेलमै अफ्रिकी बलियो टोली आइभरी कोष्टविरुद्ध कठिन चुनौती सामना गरे पनि हालान्डको निर्णायक गोलले नर्वेलाई अघि बढाएको हो ।

विश्वकप २०२६ मा उच्च लयमा देखिएका हालान्ड अहिले गोल्डेन बुटको दौडमा पनि निकै अगाडि छन् । उनको ५ गोलले नर्वेको आक्रमण पंक्तिलाई मजबुत बनाएको छ । अब अन्तिम १६ मा ब्राजिल जस्तो बलियो टोलीसँग खेल्दा पनि नर्वेले सोही उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *