फिफा विश्वकप २०२६: कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा

 

काठमाडौँ, २४ असार ।  क्यानडामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को अन्तिम खेलमा कोलम्बियालाई पराजित गर्दै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा स्वीट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले स्तब्ध पारेको हो ।

खेलको निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टीमा स्वीट्जरल्यान्डका तर्फबाट ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । स्वीट्जरल्यान्डका म्यानुअल अकांजीको प्रहार भने गोलमा परिणत हुन सकेन ।

यता, कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे पनि डेभिन्सन सान्चेज र कुचो हर्नान्डेज पेनाल्टीमा चुक्न पुगे ।

यस जितसँगै स्वीट्जरल्यान्ड जारी विश्वकपको अन्तिम आठमा पुग्न सफल भएको छ । यो खेलसँगै विश्वकपको ‘राउन्ड अफ १६’ का सबै खेलहरु समेत समाप्त भएका छन् । अब प्रतियोगिताको क्वार्टरफाइनलका रोमाञ्चक भिडन्तहरु सुरु हुनेछन् ।