दुई कलाकारका एकल चित्रकला प्रदर्शनी हुँदै
‘नेवर्स’ शीर्षकमा प्रदर्शनी
काठमाडौँ, असोज २१ । नेपाली र अर्जेन्टिनाका दुई कलाकारका एकल चित्रकला प्रदर्शनी शुक्रबार काठमाडौँ उपत्यकाका दुई फरक कला दीर्घामा आयोजना हुने भएको छ । आर्टुडियो इन्टरनेसनल आर्टिस्ट रेसिडेन्सी (एआइएआर) अन्तर्गत अर्जेन्टिनाकी चित्रकार सोफिया पिचन रिभिएरको एकल चित्रकला प्रदर्शनी ललितपुरको पाटनमा शुक्रबारदेखि सुरु हुने भएको हो । लेखक, एनिमेटर तथा विश्वविद्यालयकी प्राध्यापकसमेत रहनुभएकी रिभिएरले एआइएआरअन्तर्गत काठमाडौँस्थित आर्टुडियोमा एक महिना कलाकारका रूपमा कार्यशाला गर्नुभएको थियो ।
नेपाल बसाइका क्रममा उहाँले सिर्जना गर्नुभएका चित्रलाई ‘नेवर्स’ शीर्षकमा प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा नेपाली परिवेश, कला, संस्कृति तथा परम्पराको एक महिनाको अवलोकन र अनुभूतिलाई कलाकारले आधुनिक शैलीमा क्यानभासमा उतार्नुभएको छ ।
नेपालको कला, संस्कृति र सामाजिक परिवेशलाई नजिकबाट नियालेर प्राप्त अनुभवलाई चित्रमार्फत अभिव्यक्त गर्ने प्रयास प्रदर्शनीमा गरिएको आयोजकको भनाइ छ ।
