एन्फा अध्यक्ष नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

काठमाडौँ, २१ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ।

खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान पूरा गरी सीआईबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो।

सीआईबीले अनुसन्धानका क्रममा उनीहरूबाट ६६ लाख ५३ हजार रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको जनाएको छ।

सीआईबीले असोज २ गते एन्फा मुख्यालयमा छापा मारेर कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरू पक्राउ परेपछि एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राई भने सम्पर्कविहीन रहेको जनाइएको छ।

एन्फाविरुद्ध राष्ट्रिय हित र प्रतिष्ठाविपरीत होम गेम बिक्री, राष्ट्रिय खेलकुद परिषद्को निर्देशन अवज्ञा, अवैध भत्ता वितरण, महिला साफ च्याम्पियनसिपमा होटल दररेटमा कमिसन तथा भ्रष्टाचार, स्वीकृतिबिनै वैदेशिक भ्रमण, अनुदान रकमको दुरुपयोग र अनावश्यक नियुक्तिलगायतका विषयमा उजुरी परेको थियो।

त्यस्तै, विभिन्न समयमा भएका टेन्डर प्रचलित कानुनबमोजिम नगरेको तथा विभिन्न प्रतियोगितामा मार्केटिङ, डिजिटल, बोर्डकास्टिङ र टिकटिङ अधिकार प्रदान गर्दा अनियमितता गरेको आरोपसहित एन्फाभित्र भएको भनिएको भ्रष्टाचार, अनियमितता र पदको दुरुपयोगबारे छानबिन गरी कारबाही गर्न माग गरिएको थियो।

उजुरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको थियो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले जुन २४ देखि एन्फालाई निलम्बनमा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *