१५ स्थानको पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु
चितवन, ३० असार । नारायणगढ–मुग्लिन सडकखण्डको १५ वटा फरक–फरक स्थानमा खसेको पहिरो हटाएपछि अवरुद्ध सडक दुईतर्फी रूपमा सुचारु भएको छ। सोमबार दिउँसोदेखि सुरु भएको अविरल वर्षाका कारण साँझ ७ बजेबाट खस्न थालेको पहिरो मङ्गलबार बिहानसम्मै जारी रहेको थियो।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यस सडकखण्डको भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभानका दुई ठाउँ, घुमाउने, सिमलतालका दुई ठाउँ, २५ किलो, जलविरे, नाम्सी खोला र तुइन खोलामा पहिरो खसेर सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको थियो। तीमध्ये सेतीदोभानमा सडक पूर्ण रूपमा दुईतर्फी र अन्य स्थानमा एकतर्फी अवरुद्ध बनेको थियो।
सडकमा खसेको लेदो र पहिरो पन्छाउन रातिदेखि नै दुईवटा लोडरसहितका भारी उपकरण र प्राविधिक टोली परिचालन गरिएको थियो। “राति १ बजेसम्म गाडी सञ्चालन गर्न सकिने गरी पहिरो पन्छाए पनि केही संवेदनशील स्थानमा पुनः पहिरो खस्ने जोखिम रहेकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पूर्ण रूपमा सडक सुचारु गराउन बिहानसम्म पर्खनुपरेको थियो,” इन्जिनियर घिमिरेले जानकारी दिए।
पहिरो पन्छाएर बिहानदेखि दुईतर्फी सवारी सञ्चालनमा ल्याइए पनि यस सडकखण्डमा वर्षाको समयमा जुनसुकै बेला पहिरो खस्न सक्ने सम्भावना कायमै छ।