व्यक्तिका सीप र क्षमता जनहितमा उपयोग गर्नुपर्छ : नारायणमान बिजुक्छे
भक्तपुर, ७ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले व्यक्तिका सीप, क्षमता र योग्यतालाई देश तथा जनताको हितमा उपयोग गर्नुपर्ने बताएका छन्। राजनीतिकर्मीले अरूको भनाइमा मात्र भर नपरी अध्ययन, अनुसन्धान र आफ्नै अनुभवबाट ज्ञान हासिल गर्नुपर्नेमा जोड दिँदै उनले राजनीति देश र जनताको सेवाका लागि हुनुपर्ने धारणा राखे।
भक्तपुर नगरपालिका–७, गोमारीस्थित यातामा शुक्रबारदेखि सुरु भएको ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या शनिबार सम्पन्न भएको छ। ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ आयोजित दुईदिने सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष बिजुक्छेले राजनीति, साहित्य, भाषा, शिक्षा र सामाजिक जीवनका विविध पक्षबारे धारणा राखेका थिए।
उनले राजनीतिक कार्यकर्ताको मूल्याङ्कन पार्टी सदस्यताका आधारमा मात्र नभई अध्ययन, अनुसन्धान, अनुभव, योग्यता र व्यवहारमा देखिने कार्यक्षमताका आधारमा हुनुपर्ने बताए। हरेक व्यक्तिको व्यक्तित्वअनुसार फरक–फरक सीप र क्षमता हुने उल्लेख गर्दै उनले ती क्षमतालाई जनपक्षीय काममा लगाउन निरन्तर प्रयत्न गर्नुपर्ने धारणा राखे।
भारतीय साहित्यकार प्रेमचन्द र चिनियाँ साहित्यकार लु सुनको उदाहरण दिँदै बिजुक्छेले साहित्यकारले कुनै राजनीतिक दलमा आबद्ध नभए पनि देश र जनताको पक्षमा सिर्जनामार्फत योगदान दिन सक्ने बताए। विश्वका विभिन्न देशका जनताको जीवनशैली, कला, संस्कृति, भूगोल र वातावरण बुझ्न विदेशी साहित्यको अध्ययन आवश्यक रहेको उनको भनाइ थियो।
उनले नेपालभाषा, नेपाली र अंग्रेजीलगायत जुनसुकै भाषा बोले पनि शुद्ध र शिष्ट रूपमा बोल्न जान्नुपर्नेमा जोड दिए। भाषा र साहित्यको निरन्तर अध्ययनले मानिसको सभ्यता र चेतना अभिवृद्धि गर्ने बताउँदै उनले विद्यालय तहदेखि नै विद्यार्थीलाई प्राविधिक शिक्षामा दक्ष बनाउनुपर्ने धारणा राखे। युवाहरूले कुनै न कुनै खेलकुदमा सहभागी भएर स्वास्थ्यलाई चुस्त राख्नुपर्ने पनि उनले बताए।
वैदेशिक रोजगारीका कारण नेपाली समाज र अर्थतन्त्रमा परिरहेको प्रभावबारे चर्चा गर्दै बिजुक्छेले मानव संसाधनलाई वस्तुसरह विदेश पठाउने प्रवृत्तिमाथि प्रश्न उठाए। विदेशमा रहेका छोराछोरी अभिभावक गम्भीर बिरामी हुँदा वा मृत्यु हुँदा समेत स्वदेश फर्कन नसक्ने अवस्था चिन्ताजनक रहेको उनको भनाइ थियो। उनले देशका उद्योगहरूको संरक्षण, स्वदेशमै रोजगारी सिर्जना र जनताको बचत सुरक्षामा ध्यान दिनुपर्ने विषय पनि उठाए।
उनले सहकारीका वास्तविक सञ्चालक र ठगी गर्नेहरूबीचको भिन्नता पहिचान गर्न जनतालाई सचेत बनाउनुपर्नेमा जोड दिए। जनताका नेता तथा कार्यकर्ताको दायित्व समाजका राम्रा र नराम्रा प्रवृत्तिबारे जनतालाई जानकारी गराउनु र देश तथा जनताको हितमा काम गर्नु भएको उनको भनाइ थियो।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्य
समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले देश गलत दिशातर्फ गइरहेको भन्ने जनमत र विगतका राजनीतिक निर्णयबारे धारणा राखे। उनले देशहितविपरीतका गतिविधिविरुद्ध पार्टीले विगतदेखि आवाज उठाउँदै आएको बताए।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले २०५४ सालमा ‘एक घर, एक स्नातक’ अभियान घोषणा गरिएको स्मरण गर्दै उनले अहिले भक्तपुरमा ‘एक घर, एक स्नातकोत्तर’को अवस्था बनेको भन्दै खुसी व्यक्त गरे। देशको संविधान निर्माण, लगानी बोर्डसम्बन्धी विधेयक र एमसीसीलगायत विषयमा पार्टीले राख्दै आएका धारणा पनि उनले प्रस्तुत गरे।
साहित्यिक विधामा उत्कृष्ट सर्जक पुरस्कृत
सम्मेलनको दोस्रो दिन किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु मोतीबहादुर खायमली, समाजसेवी कृष्णदेवी वाङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
प्रमुख अतिथि बिजुक्छेले कथा र कविता विधामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने साहित्यकारलाई पुरस्कार वितरण गरे। निर्णायक मण्डलका अनुसार कविता विधामा शकुन्तला महर्जन प्रथम, हरिसुन्दर पोतामहाँ द्वितीय, शिल्भिया प्रजापति तृतीय र ओमकृष्ण श्रेष्ठ चौथो भए।
त्यस्तै, कथा विधामा कमलकेशरी थुयाजू प्रथम, सूर्यनारायण फाँजू द्वितीय, श्रीया पहिजू तृतीय र एलके सुन्दर चौथो भए। सम्मेलनका दुवै दिन प्रस्तुत विभिन्न सांस्कृतिक विधाका नतिजा केही दिनमा सार्वजनिक गरिने र विजेतालाई छुट्टै कार्यक्रममार्फत पुरस्कार वितरण गरिने आयोजक समितिका प्रचारप्रसार तथा प्रकाशन संयोजक बलराम गोसाईले जानकारी दिए।
साहित्य र संस्कृतिमार्फत सामाजिक चेतना
दुई दिनसम्म चलेको सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिएका थिए। नयाँ पुस्ताका सर्जकले प्रतियोगितात्मक रूपमा सिर्जना प्रस्तुत गरेका थिए भने वरिष्ठ साहित्यकार तथा आमन्त्रित सर्जकले पनि रचना वाचन गरेका थिए।
साहित्यिक कार्यक्रमसँगै गीत, संगीत, प्रतियोगितात्मक नाटक, ख्याल, नृत्य र गीतिनाटकसहित विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएका थिए। साहित्य र सांस्कृतिक गतिविधिमार्फत समसामयिक सामाजिक तथा राजनीतिक विषयका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमलाई अभिव्यक्त गरिएको थियो।
सम्मेलनको पहिलो दिन तःमुंज्याको मुखपत्र ‘तःमुंज्या ख्वपौं’को विमोचन अध्यक्ष बिजुक्छेले गरेका थिए। हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘नयाँ पुस्ता’ पुस्तकको विमोचन वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गरेका थिए। पहिलो दिन युवा कवि दामोदर सुवाल, ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तककी लेखिका विणा जोशी र वरिष्ठ नर्स दयालक्ष्मी जोशी (वैद्य) लगायतलाई पनि सम्मान गरिएको थियो।
दोस्रो दिनको कार्यक्रममा इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ, पत्रकार लक्ष्मणराज जोशीलगायतले मन्तव्य राखेका थिए। नेपालभाषा साहित्य तःमुंज्या मु गुथिका सचिव नरेश खत्रीले शुभकामना मन्तव्य राखेका थिए भने आयोजक समितिका उपाध्यक्ष कृष्णगोविन्द खाइजूले स्वागत गरेका थिए। ‘न्हुजः वापौ’का सम्पादक महन्त महर्जनको सभापतित्वमा भएको कार्यक्रममा कोषाध्यक्ष कृष्णगोविन्द लाखाले आयव्यय प्रस्तुत गरेका थिए। सचिव पुरुषोत्तम ग्वाछाले धन्यवाद ज्ञापन गरेका थिए।
नेपाल संवत् ११४६ को अवसरमा आयोजित सम्मेलनको उद्घाटन शुक्रबार सांस्कृतिक गुरु तथा ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले गरेका थिए। नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति र सम्पदाको संरक्षण तथा संवर्द्धनमा योगदान पुर्याउँदै आएको आयोजकले जनाएको छ।
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याका अध्यक्ष उकेश कवांका अनुसार सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी तथा भाषा–संस्कृतिप्रेमीको सहभागिता थियो। नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, साहित्य सिर्जना गर्न र सार्वजनिक रूपमा प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्नुका साथै भाषा र संस्कृतिको संरक्षण तथा सामाजिक चेतना अभिवृद्धि गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
