तनहुँको जामुनेमा तीन सवारी साधन एकआपसमा ठोक्किँदा दुई घाइते
काठमाडौँ, कार्तिक ७ । तनहुँको म्याग्दे गाउँपालिका २ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको विद्युतीय माइक्रोबस एकआपसमा ठोक्किएका थिए । ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेपछि पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ज ७५०१ नम्बरको टाटा सुमोसँग पुनः ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा विद्युतीय माइक्रोबसका चालक शुक्लागण्डकी नगरपालिका ६ निवासी ३२ वर्षीय सुमन परियार र माइक्रोबसमा सवार व्यास नगरपालिका १४ निवासी नौ वर्षीया जेनिशा परियार घाइते भएका छन् ।
घाइते दुवै जनाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
