काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने ३३६ वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले एकैदिन कारबाही गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सञ्चालन गरिएको विशेष चेकिङका क्रममा ती सवारीसाधन कारबाहीमा परेका हुन्।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०२ जना, सिसिटिभी क्यामरामार्फत पहिचान भएका ३९ जना र रातो बत्तीको इसारा उल्लङ्घन गर्ने २० जना चालक रहेका छन्।

यसैगरी तीव्र गतिमा सवारी चलाउने ५७, अनावश्यक हर्न बजाउने आठ, लेन अनुशासन पालना नगर्ने तीन, यान्त्रिक अवस्था ठीक नभएका दुई र अन्य विभिन्न कसुरमा संलग्न १०५ सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

चाडपर्वका बेला हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले कडा निगरानीका साथै कारबाही अभियानलाई तीव्रता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *