मनसुनजन्य विपद् व्यवस्थापनका लागि सरकारी संयन्त्रलाई उच्च सतर्क रहन निर्देशन
काठमाडौँ, साउन ४ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा आज बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद् तथा सम्भावित महामारीको प्रभावकारी व्यवस्थापनका लागि सबै सरकारी निकाय र सुरक्षा संयन्त्रलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
बैठकले विपद्को समयमा आवश्यक पर्ने जनशक्ति, बजेट, राहत सामग्री र प्राविधिक सहयोगको परिचालनलाई सङ्घीय, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक रूपमा अगाडि बढाउने निर्णय गरेको छ । मनसुन सक्रिय रहँदा देशका विभिन्न स्थानमा हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न एकीकृत परिचालनमा जोड दिइएको छ ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेकाले विपद् प्रतिकार्य र पूर्वतयारीका कार्यलाई तीव्रता दिएको जनाएको छ । प्राधिकरणले सम्भावित जोखिमका क्षेत्रहरू पहिचान गरी स्थानीय प्रशासन र सरोकारवाला निकायसँगको समन्वयलाई थप सुदृढ बनाएको छ ।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि सबै सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय भइरहेको जानकारी दिनुभयो । सरकारले नागरिकको जिउज्यानको सुरक्षा र राहत वितरण कार्यलाई प्राथमिकतामा राख्दै उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।