त्रिविको ६७ औँ वार्षिकोत्सव : १८३ जना शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान
काठमाडौँ, ६ साउन । मुलुकको जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६७ औँ वार्षिकोत्सव मनाएको छ । यस अवसरमा विश्वविद्यालयले लामो समयदेखि कार्यरत विभिन्न प्राध्यापक तथा कर्मचारीहरूलाई ‘दीर्घसेवा पदक’ बाट विभूषित गरेको छ ।
कीर्तिपुरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच उपकुलपति प्रा.डा. भेल थापाले सो पदक वितरण गर्नुभयो । विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गर्ने शिक्षक तथा कर्मचारीहरूलाई सेवा अवधिभरमा एक पटक यस्तो पदक प्रदान गर्ने परम्परा छ ।
यस वर्ष शिक्षकतर्फ १४२ जना र कर्मचारीतर्फ ४१ जना गरी कूल १८३ जनालाई दीर्घसेवा पदक प्रदान गरिएको छ । कार्यक्रममा त्रिवि सेवा आयोगका अध्यक्ष किशोर थापा लगायत विश्वविद्यालयका अन्य वरिष्ठ पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै उपकुलपति डा. थापाले विश्वविद्यालयलाई उत्कृष्ट शिक्षा, गुणस्तरीय अनुसन्धान र नवप्रवर्तनको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयको समग्र सुधार र शैक्षिक स्तरवृद्धिका लागि विज्ञ प्राध्यापक, अनुसन्धानकर्मी र कर्मचारी लगायत सबै पक्षलाई रचनात्मक सहयोगका लागि आह्वान समेत गर्नुभयो ।