अदालतको फैसला कार्यान्वयनमा धनुषा प्रहरीको सक्रियता : एकै दिन ४४ जना फरार प्रतिवादी पक्राउ
काठमाडौँ, साउन ७ । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ४४ जना प्रतिवादीहरूलाई एकै दिन पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेका अनुसार साउन ६ गते सञ्चालित विशेष खोजतलास अभियानका क्रममा जिल्लाका विभिन्न स्थानबाट यी प्रतिवादीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी लागुऔषध मुद्दाका प्रतिवादीहरू रहेका छन् । यसका अतिरिक्त कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, चोरी, मोटरसाइकल चोरी, बहुविवाह, सवारी ज्यान, लुटपाट, कुटपिट, गाली बेइज्जती र सवारी अङ्गभङ्ग जस्ता विभिन्न गम्भीर तथा सामान्य मुद्दामा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन् ।
अदालतले यी प्रतिवादीहरूलाई ६ दिनदेखि अधिकतम ४ वर्षसम्मको कैद सजाय र ५०० रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना तोकेको थियो । लामो समयदेखि कानुनको आँखा छलेर लुकिछिपी बस्दै आएका उनीहरूलाई प्रहरीको विशेष टोलीले सुराकी र निगरानीका आधारमा नियन्त्रणमा लिएको हो ।
अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने र दण्डहीनता अन्त्य गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेले फरार प्रतिवादीहरूको खोजी कार्यलाई आगामी दिनमा अझ तीव्र पारिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।