दमकमा घरायसी विवाद : श्रीमान्को खुकुरी प्रहारले श्रीमतीको हत्या, श्रीमान्को पनि मृत्यु

झापा, ६ साउन । झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमान्को खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमती र त्यसलगत्तै आत्महत्याको प्रयास गरेका श्रीमान् दुवैको उपचारका क्रममा मृत्यु भएको छ ।

दमक नगरपालिका–१ श्रीपाली चोक निवासी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको आज दिउँसो मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज दिउँसो करिब २ बजे श्रीमान्–श्रीमतीबीच सामान्य विषयमा विवाद भएको थियो । सोही विवाद बढ्दै जाँदा आक्रोशित धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरीको चोटबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो ।
श्रीमतीमाथि ज्यानै लिने गरी आक्रमण गरेलगत्तै धनबहादुरले घरको अर्को कोठामा गएर सिलिङ पङ्खामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए । उनलाई झुण्डिएको अवस्थामा देखेपछि उनकी २५ वर्षीया छोरीले तत्काल पासो काटेर भुइँमा झारेकी थिइन् ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा खटिएको टोलीले दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि दमक अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उपचारकै क्रममा दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ । सामान्य घरायसी विवादले बीभत्स रूप लिएको यस घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।