होर्मुज जलसन्धिमा इरानको दाबीले विश्व अर्थतन्त्र जोखिममा : अमेरिकी विदेशमन्त्री रुबियो
एजेन्सी, ६ साउन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा नियन्त्रण कायम गर्ने र शुल्क असुल्ने इरानको तयारीले विश्व अर्थतन्त्रमा गम्भीर जोखिम निम्त्याउने चेतावनी दिनुभएको छ ।
फिलिपिन्सको राजधानी मनिलामा जारी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का विदेशमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै रुबियोले यस्तो कार्यले अन्तर्राष्ट्रिय जलमार्गमा ‘खतरनाक नजिर’ बस्ने बताउनुभयो । उहाँले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गरी शुल्क असुल्ने वा जहाजमाथि आक्रमण गर्ने कुरा विश्व समुदायका लागि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
“यदि मध्यपूर्वमा कुनै राष्ट्रले अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गर्ने र शुल्क नतिरे जहाजमाथि कारबाही गर्ने नजिर स्थापित भयो भने, यसले विश्वका अन्य भागमा पनि यस्तै भयावह अवस्था सिर्जना गर्नेछ,” विदेशमन्त्री रुबियोले भन्नुभयो । उहाँले इरानले यसअघिका शान्ति सम्झौताका प्रतिबद्धताहरू उल्लंघन गरेको आरोप लगाउँदै अहिले तेहरानले विभिन्न माध्यमबाट अमेरिकासँग वार्ताको प्रयास गरिरहेको समेत जानकारी दिनुभयो ।
बैठकमा सहभागी रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिका–इरान तनावको शीघ्र समाधान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जारी द्वन्द्वले विश्व ऊर्जा बजार र अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको भन्दै रुस स्थिरताको पक्षमा रहेको उल्लेख गर्नुभयो ।
यसैगरी, अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले होर्मुज जलसन्धि खुला रहनुपर्ने भन्दै तत्काल युद्धविराम र वार्ताका लागि आह्वान गर्नुभयो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार दक्षिणपूर्वी एसियाली मुलुकहरू मध्यपूर्वको ऊर्जामा अत्यधिक निर्भर छन् । सन् २०२५ को तथ्याङ्क अनुसार एसियाली बजारमा आउने ८० प्रतिशत कच्चा तेल र ९० प्रतिशत तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही होर्मुज जलसन्धि हुँदै आपूर्ति हुने भएकाले इरान–अमेरिका तनावले यस क्षेत्रमा ठुलो ऊर्जा संकट निम्त्याउने देखिएको छ ।
मनिला भ्रमणकै क्रममा विदेशमन्त्री रुबियोले क्वाड (अमेरिका, अस्ट्रेलिया, भारत र जापान) समूहका विदेशमन्त्रीहरूसँग पनि सामूहिक भेटवार्ता गर्नुभएको छ । सो अवसरमा क्षेत्रीय समुद्री सुरक्षा र अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थाबारे छलफल भएको थियो । जापानी विदेशमन्त्री तोशिमित्सु मोटेगीले बल प्रयोग गरी समुद्री क्षेत्रको यथास्थिति परिवर्तन गर्ने कुनै पनि प्रयासको विरोध गर्नुभयो ।
रुबियोले बिहीबार रुसी विदेशमन्त्री लाभरोभसँग युक्रेन युद्ध अन्त्यका विषयमा समेत महत्वपूर्ण छलफल गर्ने कार्यक्रम छ । उहाँले भारतीय विदेशमन्त्री एस. जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरी क्षेत्रीय सुरक्षा र व्यापारिक सम्बन्धबारे कुराकानी गर्नुभएको छ ।
मध्यपूर्वमा चर्किएको तनाव र होर्मुज जलसन्धिको सुरक्षालाई लिएर विश्वका शक्ति राष्ट्रहरूले मनिला बैठकमा गम्भीर चासो व्यक्त गरेका छन् ।