आत्मदाहको शृङ्खलाबद्ध घटना: बौद्धमा खाजाघर सञ्चालिकाद्वारा आफ्नै शरीरमा लगाए आगो

काठमाडौँ, ५ साउन । काठमाडौँमा आत्मदाहको शृङ्खला नरोकिँदा सुरक्षा र सामाजिक मनोविज्ञानमा गम्भीर प्रश्न उठेको छ। सोमबार दिउँसो बौद्ध गेट अगाडि एक २७ वर्षीया महिलाले सार्वजनिक स्थलमै आत्मदाहको प्रयास गरेकी छिन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएकी सालु गुरुङले शरीरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएकी हुन्। यो घटना सोमबार बेलुकी करिब ३:४५ बजे बौद्ध गेटको मुख्य सडक खण्डमा घटेको हो।

आगोले गम्भीर घाइते भएकी गुरुङलाई तत्काल उद्धार गरी गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्‍याइएको थियो। तर, जलनको प्रकृति जटिल देखिएपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित ‘बर्न हस्पिटल’मा स्थानान्तरण गरिएको छ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार गुरुङको शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। ५० प्रतिशत जलन र तातो धुवाँका कारण हुन सक्ने श्वासप्रश्वासको समस्याले गर्दा उनको अवस्थालाई ‘क्रिटिकल’ श्रेणीमा राखिएको छ।

प्रहरीले आत्मदाह प्रयासको ठोस कारण अझै नखुलेको जनाएको छ। विवाहित रहेकी गुरुङको व्यावसायिक तनाव वा पारिवारिक समस्याका बारेमा प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको छ। घटनास्थलको मुचुल्का र वरपरका सीसीटीभी फुटेजहरू सङ्कलन गर्ने कार्य भइरहेको एसपी भट्टराईले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *