अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनको नयाँ रेकर्ड : एकै वर्षमा १६९ देशका ५ लाख पर्यटक भित्रिए
काठमाडौँ, साउन ५ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा गत आर्थिक वर्षमा पर्यटक आगमनको नयाँ रेकर्ड कायम भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत आवमा विश्वका १६९ देशका कुल ५ लाख ८ हजार ४७६ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन् ।
भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि
कुल पर्यटकमध्ये दक्षिण एसियाली (सार्क) मुलुकका पर्यटकको संख्या ३ लाख ८४ हजार १४५ रहेको छ भने अन्य मुलुकबाट १ लाख २४ हजार ३३१ जना पर्यटक आएका छन् । तथ्याङ्क अनुसार सबैभन्दा बढी ३ लाख ७५ हजार ७९७ भारतीय पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् ।
दोस्रो स्थानमा चिनियाँ पर्यटक (१२,५३९) र तेस्रोमा अमेरिकी पर्यटक (९,८८४) रहेका छन् । यसैगरी बेलायतबाट ९,८५९, फ्रान्सबाट ७,९३९, मलेसियाबाट ७,८४८, जर्मनीबाट ७,६३४, बङ्गलादेशबाट ७,४४८, अष्ट्रेलियाबाट ७,०९५ र इजरायलबाट ६,३९८ पर्यटक यस क्षेत्रमा भित्रिएका छन् ।
अघिल्लो वर्षको तुलनामा आगमन दोब्बर
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार आव २०८१/८२ को तुलनामा गत आवमा पर्यटकको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ । आव २०८१/८२ मा २ लाख ७८ हजार ११३ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।
गत जेठ महिनामा मात्रै भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झण्डै ३०० प्रतिशतले बढेको डा. कडरियाले जानकारी दिनुभयो । भारतीय पर्यटक यति ठूलो सङ्ख्यामा भित्रिएको यो पहिलोपटक हो । पोखरा र मुक्तिनाथ जस्ता धार्मिक एवं पर्यटकीय स्थलको प्रवर्द्धन, यातायातको सहज पहुँच र सामाजिक सञ्जालको प्रभावका कारण पर्यटक संख्या बढेको विश्लेषण गरिएको छ ।
पोखरा र मुक्तिनाथ मुख्य रोजाइ
गर्मी छल्न भारतीय पर्यटकहरू पोखरा र आसपासका क्षेत्रमा आउने क्रम बढेसँगै वैशाख–जेठ महिनामा पोखराका होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको थियो । पोखरा आउने भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशतले मुक्तिनाथको दर्शन गर्ने गरेका छन् ।
अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र घोडेपानी पदयात्राका लागि विश्वभर प्रसिद्ध छन् । कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडामा फैलिएको यो क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य र हिमाली संस्कृतिका लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।