अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज १ खर्ब निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ६ साउन । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज बुधबार रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत रु एक खर्ब सङ्कलन गर्न बोलकबोल आह्वान गरेको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल प्रक्रियामा सहभागी हुन सक्नेछन्। यस उपकरणको निष्कासन पनि आजै गरिनेछ।

यस निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ भने यसको साँवा तथा ब्याज भुक्तानी वि.सं. २०८३ असोज २७ गते गरिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा न्यूनतम रु १० करोडदेखि बढीमा कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था छ। एउटै संस्थाले फरकफरक ब्याजदरमा एकभन्दा बढी बोलपत्र पनि पेस गर्न सक्नेछन्।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। आवेदन दिँदा निक्षेप गर्न चाहेको रकम र दशमलवपछि चार अङ्कसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ। राष्ट्र बैंकका अनुसार सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म बोल स्वीकृत गरिनेछ। समान ब्याजदरमा माग बढी भएमा ‘प्रो–राटा’ (समानुपातिक) आधारमा रकम बाँडफाँट गरिने व्यवस्था छ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ।

निक्षेप सङ्कलन उपकरणलाई बैंकहरूले आफ्नो लगानी पोर्टफोलियोका रूपमा गणना गर्न पाउनेछन्। यसरी सङ्कलन गरिएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ। यस उपकरणमा परिपक्व अवधि पूरा हुनुअघि पूर्वभुक्तानी सुविधा उपलब्ध नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।