दोलखा गौरीशंकरको सिप्रिङ खोलामा भीषण बाढी : एक वृद्ध बेपत्ता, चार जना भीरमा फसे

दोलखा, ६ साउन । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिप्रिङ खोलामा मंगलबार राति आएको भीषण बाढीले एक जना वृद्धलाई बगाएर बेपत्ता पारेको छ भने अन्य चार जना जोखिमपूर्ण स्थानमा फसेका छन् ।

स्थानीयका अनुसार बाढीले ७३ वर्षीय चसमान तामाङलाई बगाएको हो । उहाँको अवस्था हालसम्म अज्ञात रहेको स्थानीयले जनाएका छन् । यस्तै, सिप्रिङ खोला जलविद्युत् आयोजनामा कार्यरत चार जना कर्मचारीहरू बाढीका कारण ज्यान जोगाउन भाग्ने क्रममा भीरमा फसेका छन् । उनीहरू अत्यन्तै जोखिमपूर्ण स्थानमा रहेको र उद्धारको पर्खाइमा रहेको बताइएको छ ।

खोलामा पानीको सतह नघटेको र निरन्तर बाढी आइरहेका कारण तत्काल उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीयले जानकारी दिएका छन् । बाढीले सिप्रिङ खोला जलविद्युत् आयोजनाको बाँध (ड्याम) क्षेत्रमा समेत ठुलो क्षति पुर्‍याएको छ ।