वर्षा र पहिरोले विभिन्न सडक प्रभावित, बिपी र कान्तिलोकपथमा रात्रिकालीन सवारीमा रोक

काठमाडौँ, ६ साउन । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण मुलुकका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। सम्भावित दुर्घटना र जोखिम न्यूनीकरणका लागि बिपी राजमार्ग र कान्तिलोकपथमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यसैगरी, मकवानपुरको कान्तिलोकपथमा पनि वर्षा र पहिरोको सम्भावित जोखिमका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित सडकखण्डमा वर्षाका कारण सडक हिलाम्मे भई आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। भने
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारीस्थित सडकखण्डमा पहिरोका कारण यातायात ठप्प छ।

अन्य सडकखण्डहरूमा कालीगण्डकी करिडोर अन्तर्गत बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित करिडोर पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै राँके–रवि–भेडेटार सडक अन्तर्गत पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेस्थित सडकखण्ड पहिरोका कारण अवरुद्ध बनेको छ।

आरुघाट–माछिखोला सडक अन्तर्गत गोरखाको धार्चे गाउँपालिका–७ लिदिङस्थित सडकखण्ड अवरुद्ध भएको छ। भने कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।