कीर्तिपुर कार आगलागी घटनामा ७० वर्षीय वृद्धले आत्मदाह गरेको प्रहरी निष्कर्ष

काठमाडौँ, ६ साउन । काठमाडौँको कीर्तिपुर, ट्याङ्लाफाँटमा मङ्गलबार कारमा आगो लागेर चालकको मृत्यु भएको घटनामा प्रहरीले आत्मदाहको निष्कर्ष निकालेको छ। मृतक ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले व्यवसायमा ठूलो आर्थिक नोक्सानी व्यहोरेपछि कारभित्रै पेट्रोल छर्किएर आफैँलाई आगो लगाएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार काठमाडौँको नरदेवीका स्थायी बासिन्दा श्रेष्ठ हाल कीर्तिपुरस्थित ग्रीन उड भिल्लामा बस्दै आउनुभएको थियो। कोभिड महामारीको समयमा विदेशबाट अत्यावश्यक स्वास्थ्य सामग्री आयात गर्ने व्यवसायमा संलग्न श्रेष्ठको बजारबाट रकम उठ्न नसकेपछि ठूलो ऋण लागेको पारिवारिक स्रोतले जनाएको छ। ऋण र ब्याजको चर्को दबाबका कारण उहाँ केही समयदेखि मानसिक तनावमा रहनुका साथै अस्वाभाविक व्यवहार देखाउने गर्नुभएको थियो।

अनुसन्धानका क्रममा श्रेष्ठले मङ्गलबार बिहान ट्याङ्लाफाँटस्थित सुम्लाङकोटको खाली ठाउँमा गाडी पार्क गरेर भित्रै पेट्रोल छर्किएको र कम्मरमा सीट बेल्ट बाँधेकै अवस्थामा आगो लगाएको पाइएको छ।

घटनास्थलको सीसीटीभी फुटेजमा एक प्रत्यक्षदर्शीले जलिरहेको गाडीको ढोका खोल्ने प्रयास गरे पनि आफ्नै हातमा आगो सल्किएपछि उनी पछि हटेको देखिएको छ। ढोका खुल्दा पनि श्रेष्ठ गाडीभित्रै बसिरहेको र पछि प्रहरीले आगो निभाउँदा उहाँ चालक सिटमै मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ।

यातायात व्यवस्था कार्यालयको अभिलेखअनुसार आगलागी भएको उक्त कार श्रेष्ठले विसं २०६२ सालमा खरिद गर्नुभएको थियो। उक्त गाडी मृतक श्रेष्ठ र रजनी श्रेष्ठको नाममा दर्ता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।