यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना : कहाँ कहाँ पर्दैछ पानी?

काठमाडौँ, ७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानमा अवस्थित छ । आज दिउँसो देशभर साधारणतया बादल रहने र पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यसैगरी, तराईका भू-भागमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति पनि वर्षाको क्रम जारी रहने र बागमती तथा गण्डकी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारी वर्षा हुन सक्ने मौसम बुलेटिनमा उल्लेख छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम रहने महाशाखाले चेतावनी दिएको छ । यसका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण र सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने देखिएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।