बागमती नदी किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने

काठमाडौँ, ८ साउन । बागमती नदी किनारबाट हटाइएका अनधिकृत तथा अव्यवस्थित बसोबास क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ। ती क्षेत्रमा स्थायी कङ्क्रिट संरचना निर्माण नगरी हरित क्षेत्र, खेलमैदान, पदमार्ग (वाकिङ ट्रेल) तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गर्ने सरकारको योजना छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हटाइएका बस्ती रहेका स्थानमा सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने गरी खुला क्षेत्र विकास गरिने जनाएको छ।

समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले नदीको प्राकृतिक बहाव संरक्षण, बाढी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक प्रयोगका खुला क्षेत्र विकास गर्ने उद्देश्यले छुट्टै गुरुयोजना तयार भइरहेको जानकारी दिनुभयो। “हामी सबै नागरिकको सहज पहुँच हुने खुला सार्वजनिक क्षेत्र निर्माण गर्दैछौँ। यहाँ पदमार्ग, हरित क्षेत्र र खुला मनोरञ्जनस्थल बन्नेछन्, तर स्थायी कङ्क्रिट भवन निर्माण गरिने छैन,” उहाँले भन्नुभयो।

अत्यधिक वर्षा वा बाढीका बेला नदी सहज रूपमा फैलिन सक्ने गरी खुला पार्क र हरित क्षेत्र विकास गरिने उहाँको भनाइ छ। समितिका कार्यकारी अध्यक्ष डा. आनन्द सिंह भाटले बागमतीलाई बाढी नियन्त्रण, सरसफाइ र हरियालीसँग जोडिएको नागरिकमैत्री सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो।

विभिन्न क्षेत्रमा यस्तो छ गुरुयोजना:
बल्खु, बंशीघाट, थापाथली, गैरीगाउँ, सिनामङ्गल र शङ्खमूललगायत क्षेत्रमा हटाइएका बस्तीका भग्नावशेष हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ।

बंशीघाट क्षेत्र: खेलकुदका लागि उपयुक्त खुला क्षेत्र विकास गर्नुका साथै वृक्षरोपण र घाँसे मैदान (ग्रासल्यान्ड) निर्माण गरिनेछ। यस क्षेत्रलाई नजिकैको विश्व निकेतन विद्यालयले खेलकुद प्रयोजनका लागि प्रयोग गर्ने समझदारीसमेत भएको छ।
बल्खु क्षेत्र: हाल करिब ४० मिटर चौडाइमा सीमित नदीलाई निर्धारित ८० मिटर बहाव क्षेत्रसम्म विस्तार गरी बाँकी भागमा हरित क्षेत्र र खुला पार्क बनाइनेछ।
शङ्खमूल क्षेत्र: खुला खेलमैदान तथा खेलकुद केन्द्र विकास गर्ने अवधारणा अघि सारिएको छ।
गैरीगाउँ र सिनामङ्गल क्षेत्र: हाल पाँचदेखि १० मिटर चौडाइमा रहेको नदीलाई न्यूनतम ३० मिटर चौडा बनाई बाँकी क्षेत्रमा घाँसे मैदान, पार्किङ, प्रतीक्षास्थल र खुला पार्क निर्माण गरिनेछ।
थापाथली क्षेत्र: नदीको बहाव क्षेत्र करिब ६० मिटर पुर्‍याइनेछ। सम्पदा र स्मारक क्षेत्रमा असर नपर्ने गरी करिडोर सडकलाई थापाथली अस्पतालतर्फबाट पुलमुनि हुँदै बंशीघाटसम्म निरन्तर जोड्ने योजना छ।

यस आयोजनाका लागि चालु आर्थिक वर्षमा करिब रु दुई अर्ब बजेट विनियोजन भएको छ। दशैँअघि नै ठेक्का सम्झौता सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने लक्ष्य रहेको आयोजना निर्देशक महर्जनले बताउनुभयो। सहरी विकास मन्त्रालयसँगको सहकार्यमा बहुवर्षीय (एमटीएफ) ढाँचाअन्तर्गत आवश्यक बजेट सुनिश्चित गरी तीन वर्षभित्र योजना पूर्ण रूपमा कार्यान्वयन गर्ने समितिको तयारी छ।

यो परियोजना सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ‘भिजन काठमाडौं–२०४०’ को भावनाअनुरूप अघि बढाइएको हो। उक्त दीर्घकालीन योजनाअन्तर्गत काठमाडौँ उपत्यकाका नदी करिडोरहरूमा एकीकृत फोहोरमैला व्यवस्थापन, ढलमुक्त नदी अभियान र नदी किनारमा हरियाली प्रवर्द्धन गर्ने कार्यक्रम समाविष्ट छन्।