कार्यवाहक प्रमुख सुनिता डंगोलद्वारा राष्ट्रिय ट्रमा सेन्टरलाई ८० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण : महानगरबासी र विपन्नले निःशुल्क ‘इम्प्लान्ट’ पाउने

काठमाडौँ, ८ साउन । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरबासी, विपन्न तथा बेवारिसे बिरामीहरूको निःशुल्क र सहज उपचार सुनिश्चित गर्न राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ बराबरको अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण गर्नुभएको छ। दुर्घटना वा अन्य स्वास्थ्य समस्याका कारण हड्डीको शल्यक्रिया गर्नुपर्ने तर महँगो सामग्री खरिद गर्न नसक्ने बिरामीहरूलाई लक्षित गरी बुधबार आयोजित एक कार्यक्रमका बिच कार्यवाहक प्रमुख डंगोलले सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई ती सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।

सामग्री हस्तान्तरणका क्रममा कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले केवल भौतिक सामान मात्र उपलब्ध नगराएर अस्पतालको क्षमतासँग सम्बन्धित विपन्न वर्गको उपचार गराउने जिम्मेवारी समेत हस्तान्तरण गरेको बताउनुभयो । उहाँले ट्रमा सेन्टरमा आउने अधिकांश बिरामीहरू आपतकालीन सेवाका लागि आउने र यस्तो संवेदनशील समयमा सानो प्रयत्नले पनि मानिसको जीवन बचाउन सक्ने उल्लेख गर्दै यी सामग्रीले लक्षित वर्गमा उपचारको पहुँच वृद्धि गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।  महानगरपालिकाको स्वास्थ्य विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत खरिद गरेका यी सामग्रीहरूबाट अब विपन्न नागरिकको ठुलो समूह लाभान्वित हुने डंगोलको भनाइ थियो ।

यो सम्झौता अनुसार काठमाडौँ महानगरबासीका लागि महानगरको स्वास्थ्य विभागको सिफारिस र विपन्न वा बेवारिसे बिरामीको हकमा ट्रमा सेन्टरकै सामाजिक सुरक्षा एकाईको सिफारिसका आधारमा मौज्दात रहेसम्म निःशुल्क इम्प्लान्ट उपलब्ध गराइनेछ । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरूको खर्च विवरण र मौज्दातको अवस्थाबारे सेन्टरले प्रत्येक चार महिनामा महानगरपालिकालाई अनिवार्य रूपमा प्रतिवेदन बुझाउनुपर्ने सर्त सम्झौतामा उल्लेख गरिएको छ ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. विवेक आचार्यले महानगरपालिकासँगको सहकार्यमा वीर अस्पतालमा सञ्चालित महिला स्वास्थ्य परीक्षण कार्यक्रम सफल रहेको चर्चा गर्दै ट्रमा सेन्टरको यो नयाँ सहकार्यले सेवाप्रति थप उत्साह थपेको बताउनुभयो। सेन्टरका निर्देशक डा. मरासिनीले महानगरबाट प्राप्त सामानको सेवाबारे सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ गरिने प्रतिवद्धता जनाउँदै अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाका लागि समेत महानगरसँग सहयोगको अपेक्षा राख्नुभयो ।

राष्ट्रिय ट्रमा सेन्टरमा वार्षिक करिब ७ हजार बिरामीको शल्यक्रिया हुने गरेको र एउटा इम्प्लान्टको मूल्य प्रकृति हेरी २ सयदेखि १० लाख रुपैयाँसम्म पर्ने भएकाले महानगरको यो सहयोग अत्यन्तै राहतमूलक हुने देखिएको छ । महानगरपालिकाको यो पहलसँगै अब आर्थिक अभावकै कारण कुनै पनि महानगरबासी वा असहाय बिरामीले शल्यक्रियामा प्रयोग हुने महँगो सामग्री किन्न नसकेर उपचार रोक्नुपर्ने बाध्यताको पूर्ण रूपमा अन्त्य भएको छ ।