शैक्षिक परामर्श नियमावलीका प्रावधानबारे स्वतन्त्र व्यवसायीहरूको छलफल : आइतबार सरकारलाई दवाव दिने

काठमाडौँ, ८ साउन । स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूले सरकारले कार्यान्वयनमा ल्याउन लागेको ‘शैक्षिक परामर्श सेवा सम्बन्धी नियमावली, २०८३’ का प्रावधानहरूबारे छलफल गर्न आगामी आइतबार सूचना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएका छन् ।

काठमाडौँको हात्तिसारस्थित हिमालयन रेस्टुरेन्टमा आज बसेको व्यवसायीहरूको बैठकले आगामी आइतबार साउन ११ गते दिउँसो १२:३० बजे सोही स्थानमा बृहत् अन्तरक्रिया तथा सूचना आदान–प्रदान कार्यक्रम गर्दै सरकारलाई दवाव दिने कार्यक्रम रहेकाे जनाइएकाे छ ।

बैठकमा सहभागी व्यवसायीहरूले प्रस्तावित नियमावलीमा रहेका कतिपय प्रावधानहरू जटिल र अव्यावहारिक रहेको भन्दै चासो व्यक्त गरेका छन् । आइतबार हुने कार्यक्रममा नियमावलीका चुनौती, व्यवसाय सञ्चालनमा पर्न सक्ने असर र यसअघि सरकार तथा सरोकारवाला पक्षबीच भएका वार्ताका उपलब्धिका विषयमा व्यवसायीहरूलाई विस्तृत जानकारी गराउने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नियमावलीका प्रावधानहरूबारे स्पष्टता ल्याउनु, व्यवसायीबीच अनुभव साटासाट गर्नु र व्यावहारिक कठिनाइहरूलाई सहज बनाउन साझा धारणा तय गर्नु रहेको छ । नियमावलीलाई व्यवसायमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराउने विषयमा समेत सोही कार्यक्रममा छलफल हुनेछ ।

व्यवसायीहरूले वैदेशिक शिक्षासँग प्रत्यक्ष जोडिएको यो क्षेत्र अत्यन्त संवेदनशील भएकाले नीति तथा नियम निर्माण गर्दा सम्बन्धित व्यवसायीहरूको सुझाव र अनुभवलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । विद्यार्थीको हित र सेवाको गुणस्तर कायम राख्दै व्यवसायको दिगोपनका लागि व्यावहारिक नीति आवश्यक रहेको उनीहरूको ठहर छ ।

आइतबारको कार्यक्रममा काठमाडौँ उपत्यकासहित देशभरका स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी, सञ्चारकर्मी र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमबाट प्राप्त निष्कर्ष र सुझावहरूलाई औपचारिक रूपमा सम्बन्धित सरकारी निकायमा पेस गरिने व्यवसायीहरूले जनाएका छन् ।