बाढीपहिरो र कटानले देशका विभिन्न सडक अवरुद्ध, बिपी राजमार्ग र कान्ति लोकपथमा रात्रिकालीन यात्रामा रोक कायमै
काठमाडौँ, १० साउन । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र सडक कटानले मुलुकका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार आज बिहान ५ बजेसम्मको तथ्याङ्कले आधा दर्जनभन्दा बढी स्थानमा यातायात सेवा ठप्प रहेको जनाइएकाे छ ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी सञ्चालनमा लगाइएको प्रतिबन्ध अझै जारी छ । खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यसैगरी, कान्ति लोकपथमा पनि अर्को सूचना नभएसम्मका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न नपाइने प्रहरीले जनाएको छ ।
मेची राजमार्ग: इलाम नगरपालिका–९ राजदुवालीस्थित सडकमा लेदो र हिलो थुप्रिएका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ ।
अरनिको राजमार्ग: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं २ कोदारीमा खसेको पहिरोका कारण सडक ठप्प छ ।
लामासाँघु–रामेछाप राजमार्ग: सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ । हाल खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसर हुँदै वैकल्पिक मार्गबाट सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी: पासाङ ल्हामु सडकखण्ड अन्तर्गत त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
जोमसोम–कोरला सडक: मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित घ्याकर खोलामा पानीको सतह बढेपछि जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ ।
अवरुद्ध भएका यी सडकहरू खुलाउन सडक विभाग, सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वर्षा नरोकिएका कारण कतिपय स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।