सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौँ, १० साउन । प्रहरीले काठमाडौँको सुन्दरीजलबाट ठुलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गएराति १ बजे सुन्दरीजल क्षेत्रमा बा ८३ प ४३७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ३० किलो गाँजा बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौँको आलापोट बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजलका ५४ वर्षीय अम्बक तामाङ रहेका छन् । उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको प्रहरीले जनाएको छ ।

यसैगरी, पर्साको छिपरमाई गाउँपालिका–१ मिर्जापुरबाट प्रहरीले गएराति १४० किलो लागुऔषध गाँजा बरामद गरेको छ । एक बगैँचामा बेवारिसे अवस्थामा राखिएको उक्त गाँजा राति ९ बजे फेला पारिएको हो । उक्त गाँजा कसले र कुन प्रयोजनका लागि राखेको हो भन्नेबारे खोजी एवं अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उता मोरङको कानेपोखरी गाउँपालिका–२ देउलिया खोला नजिकबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । रङ्गेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्रदेश १–०२०४४ प ११८ नम्बरको मोटरसाइकललाई जाँच गर्दा बेलबारी नगरपालिका–११ का रणध्वज राई ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय पथरीले थप अनुसन्धान गरिरहेको छ । पछिल्लो २४ घण्टामा प्रहरीले देशका विभिन्न स्थानबाट उल्लेख्य परिमाणमा लागुऔषध बरामद गरी संलग्नहरूलाई कानुनी दायरामा ल्याएको छ ।