मोरङमा ‘डिजे’ बजाउन पूर्ण प्रतिबन्ध, नियम उल्लङ्घन गरे कडा कारबाही हुने
विराटनगर, १२ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर ‘डिजे’को प्रयोगमा पूर्ण रूपमा रोक लगाएको छ । ध्वनि प्रदूषण बढ्नुका साथै सामाजिक सद्भाव र शान्ति सुरक्षामा समेत खलल पुग्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।
प्रशासनले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि जिल्ला भित्रका कुनै पनि कार्यक्रममा डिजे बजाउन निषेध गरिएको जनाएको छ । यो प्रतिबन्ध जिल्लाभर आयोजना हुने मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक अनुष्ठान तथा पुराण लगायतका सबै प्रकारका समारोहहरूमा लागू हुनेछ ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, “प्रशासनको यो निर्देशन विपरित कसैले डिजेको प्रयोग गरे वा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।”
पछिल्लो समय ठुलो आवाजमा बजाइने डिजेका कारण स्वास्थ्यमा समस्या पर्ने, ध्वनि प्रदूषण हुने र कतिपय अवस्थामा झैझगडा तथा साम्प्रदायिक तनाव समेत निम्तिने गरेकाले प्रशासनले यस्तो कडाइ गरेको हो । छिमेकी जिल्ला सुनसरीमा डिजेकै विषयमा भएको विवादले उग्र रूप लिएपछि मोरङ प्रशासनले पूर्व सतर्कताका अपनाएकाे छ ।