चिकित्सकको आन्दोलन आज पनि जारी : देशभरका अस्पताल ठप्प, १० बजे माइतीघरमा प्रदर्शन

काठमाडौँ, १३ साउन । नेपाल चिकित्सक सङ्घले आह्वान गरेको आन्दोलनका कारण आज बुधबार पनि देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द भएका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको विरोधमा सङ्घले आन्दोलनलाई निरन्तरता दिएको हो ।

घटनामा संलग्न दोषीहरूमाथि सरकारले कडा कानुनी कारबाही नगरेको भन्दै सङ्घले हिजो मङ्गलबारदेखि देशभरका सरकारी, निजी तथा गैरसरकारी अस्पतालहरूमा सेवा ठप्प पार्ने निर्णय गरेको थियो । सङ्घका अनुसार आज पनि आकस्मिक सेवाबाहेकका बहिरङ्ग (ओपिडी) लगायतका सबै नियमित स्वास्थ्य सेवाहरू स्थगित रहनेछन् ।

सङ्घले आन्दोलनलाई थप सशक्त बनाउन आज बिहान १० बजे काठमाडौँको माइतीघर मण्डलामा भेला भई बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । काठमाडौँ बाहिरका जिल्लाहरूमा भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आ–आफ्नो कार्यस्थलमा धर्ना दिने र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको सङ्घले जनाएको छ ।

चिकित्सकहरूले नारायणी अस्पतालमा भएको घटनाका दोषीलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन’ अनुसार कडा कारबाही गर्नुपर्ने र कार्यस्थलमा पूर्ण सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राखेका छन् ।

अस्पतालहरूमा सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामीहरू भने गम्भीर मर्कामा परेका छन् । सङ्घले बिरामीमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै सरकारले आफ्नो मागप्रति बेवास्ता गरेसम्म काममा नफर्कने अडान लिएको छ ।