विश्व बाघ दिवस : नेपालमा बाघको नयाँ सङ्ख्या आज सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने अनुमान
काठमाडौँ, १३ साउन । विश्व बाघ दिवसका अवसरमा नेपालमा बाघको पछिल्लो सङ्ख्या आज सार्वजनिक गरिँदै छ । कृषि, वन तथा वातावरण मन्त्रालयले वनमन्त्री गीता चौधरीको उपस्थितिमा राष्ट्रिय बाघ गणना–२०८१ को नतिजा सार्वजनिक गर्न लागेको हो ।
सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनले हरेक वर्ष जुलाई २९ लाई विश्व बाघ दिवसका रूपमा मनाउने निर्णय गरेसँगै नेपालले पनि यो दिवस मनाउँदै आएको छ । सोही सम्मेलनमा नेपालसहित बाघ पाइने १३ मुलुकले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपालले सन् २०२२ को गणनामै उक्त लक्ष्य पूरा गरी विश्वकै ध्यान खिच्न सफल भइसकेको छ ।
सन् २०२२ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३ सय ५५ पुगेको थियो । जसमा चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ फेला परेका थिए । बासस्थानमा भएको सुधार, आहारा प्रजातिको वृद्धि र प्रभावकारी संरक्षणका कारण यस वर्षको गणनामा बाघको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नेपालमा बाघको सङ्ख्या सन् २०१० मा १२१ मात्र थियो, जुन सन् २०१८ मा २३५ र २०२२ मा ३५५ पुगेको थियो । विश्वभर हाल ५ हजार ३ सय ५७ बाघ रहेको तथ्याङ्क छ, जसमा भारत (३,१६७) पछि नेपाल अग्रणी स्थानमा देखिएको छ ।
पछिल्लो राष्ट्रिय बाघ सर्वेक्षण गत पुस १ गतेदेखि सुरु गरिएको थियो । चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी गरी तीनवटा ‘कम्प्लेक्स’ मा विभाजन गरी करिब तीन महिना लगाएर सर्वेक्षण सम्पन्न गरिएको हो ।
यस कार्यका लागि करिब १ हजार १ सय स्वचालित ‘ट्याप क्यामेरा’ र २५० जना प्राविधिक जनशक्ति परिचालन गरिएको थियो । दुई किलोमिटर लम्बाइ र चौडाइको ग्रिड बनाएर खिचिएका हजारौँ तस्बिरहरूको वैज्ञानिक विश्लेषण पश्चात् आज अन्तिम नतिजा सार्वजनिक गर्न लागिएको हो ।
बाघको सङ्ख्या वृद्धिसँगै मानव–बाघ द्वन्द्व र बासस्थान व्यवस्थापनमा भने नयाँ चुनौतीहरू थपिएका छन् । विशेष गरी मध्यवर्ती क्षेत्रका बासिन्दाहरू घाँस–दाउराका लागि जङ्गल जाँदा बाघको आक्रमणमा पर्ने क्रम बढेको छ । हाल देशभर १६ वटा ‘समस्याग्रस्त’ बाघलाई उद्धार गरी खोरमा राखिएको छ ।
यी समस्या समाधानका लागि सरकारले चितवनको देवनगरमा करिब ५२ हेक्टर क्षेत्रफलमा ‘टाइगर सेन्चुरी’ (बाघ आरक्षण क्षेत्र) निर्माण गर्ने योजना अघि सारेको छ । घाइते र समस्याग्रस्त बाघलाई प्राकृतिक वातावरणमा राख्न र पर्यापर्यटनलाई बढावा दिन यो योजना कोसेढुङ्गा सावित हुने मन्त्रालयको विश्वास छ ।
नेपालको तराई क्षेत्रका पाँचवटा राष्ट्रिय निकुञ्ज र जैविक मार्गहरूमा मात्र बाघ पाइन्छ । आज सार्वजनिक हुने तथ्याङ्कले नेपालको संरक्षण यात्रामा अर्को ऐतिहासिक सफलता थप्ने अपेक्षा गरिएको छ ।