नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो, पछिल्लो राष्ट्रिय गणना सार्वजनिक

काठमाडौँ, १३ साउन  ।  विश्व बाघ दिवसका अवसरमा नेपालमा बाघको पछिल्लो राष्ट्रिय गणना सार्वजनिक गरिएको छ, जसअनुसार मुलुकभर बाघको कुल सङ्ख्या ४२९ पुगेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज आयोजित एक कार्यक्रममा यो नयाँ तथ्याङ्क सार्वजनिक गरेको हो।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सार्वजनिक गर्नुभएको वि.सं. २०८२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी १४५ वटा बाघ फेला परेका छन्। यसैगरी, बर्दिया राष्ट्रिय निकुञ्जमा ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ फेला परेका छन्।

पछिल्लो समय निकुञ्ज तथा संरक्षण क्षेत्रको बासस्थानमा भएको सुधार, पानीका स्रोतहरूको व्यवस्थापन र सिकार प्रजातिको वृद्धिका कारण बाघको सङ्ख्या थपिएको मन्त्रालयले जनाएको छ। नेपालमा सन् २०२२ को गणनाअनुसार कुल बाघको सङ्ख्या ३५५ रहेको थियो, जसमा चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ थिए।

नेपालमा सन् २००९ देखि हरेक चार वर्षमा बाघको राष्ट्रिय गणना हुँदै आएको छ। मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा सन् २०१० मा १२१, सन् २०१४ मा १९८ र सन् २०१८ मा बाघको सङ्ख्या २३५ रहेको थियो।

प्रत्येक वर्ष जुलाई महिनाको २९ तारिखमा विश्व बाघ दिवस मनाइन्छ। सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। तत्कालीन समयमा विश्वभर बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई दृष्टिगत गरी यसको प्राकृतिक बासस्थान संरक्षण गर्ने उद्देश्यले दिवसको सुरुआत गरिएको थियो। स्वस्थ पर्यावरणीय प्रणालीको बलियो सूचक मानिने बाघ प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको महत्त्वपूर्ण प्रजाति हो।