सुनसरीको देवानगन्जमा निषेधाज्ञा कायमै, सद्भाव कायम राख्न जनप्रतिनिधिहरूको अपिल
विराटनगर, १३ साउन । सुनसरीको देवानगन्जमा भएको झडपपछि सिर्जना भएको असहज परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा (कर्फ्यु) बुधबार पनि यथावत् रहेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार सो क्षेत्रमा पूर्ण रूपमा शान्ति सुव्यवस्था कायम भई जनजीवन सामान्य नभएसम्म कर्फ्यु आदेश जारी रहनेछ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसहितको टोलीले कप्तानगन्जस्थित घटनास्थलको निरीक्षण एवं अवलोकन गरेको छ। टोलीले मृतक र घाइतेका परिवारजनसँग भेटघाट गरी उनीहरूका मागबारे जानकारी लिएको छ।
निरीक्षणका क्रममा पीडित पक्षले घटनामा संलग्न दोषीलाई कारबाही, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार तथा घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग राखेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले कप्तानगन्ज र आसपासका क्षेत्रमा शान्ति सुरक्षाको स्थिति नियन्त्रणमै रहेको जानकारी दिनुभयो।
यसै सन्दर्भमा, देवानगन्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहताले स्थानीयस्तरमा देखिएको असमझदारीका कारण भएको घटनाले समाजमा क्षति पुगेकाले सबै नागरिकलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ। यस्तै, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले पनि अचानक भएको यस घटनालाई साम्य तुल्याउन पूर्वाग्रही नभई संयम बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले द्वन्द्व, तोडफोड र आगजनीजस्ता क्रियाकलापले कसैको हित नगर्ने भएकाले समाजमा सबैले सद्भाव कायम गर्नेतर्फ पहल गर्न आह्वान गर्नुभयो।