निओ फ्युजनको २१ औँ वार्षिकोत्सव: ३२ जना प्रशिक्षार्थीलाई निःशुल्क तालिमको प्रमाणपत्र वितरण

भक्तपुर, ३१ साउन । भक्तपुरको इनाचोस्थित निओ फ्युजन स्कुल अफ कम्प्युटरले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क सीपमूलक तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ । शनिबार आयोजित एक विशेष समारोहका बीच विभिन्न विधामा तालिम लिएका ३२ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र र एक जना प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि एवं भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले नयाँ पुस्ताका लागि औपचारिक शिक्षासँगै व्यावहारिक सीपको महत्वमाथि जोड दिनुभयो । “आजको प्रतिस्पर्धी समयमा युवाहरूसँग कम्तीमा एउटा प्राविधिक सीप हुनु आवश्यक छ,” उपप्रमुख जोशीले भन्नुभयो, “सीपले मानिसलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँछ, जसले शिक्षा र आर्थिक पाटोलाई सँगसँगै अगाडि बढाउन मद्दत पुर्‍याउँछ ।”

निओ फ्युजन स्कुलका सञ्चालक बालकृष्ण बनमालाले कम्प्युटर शिक्षा मात्र नभई युवाहरूको आत्मविश्वास र कार्यदक्षता अभिवृद्धि गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो । युवाहरूलाई सूचना प्रविधिको व्यावहारिक ज्ञान दिएर रोजगारी र स्वरोजगारका लागि सक्षम बनाउन निःशुल्क तालिमको अभियान निरन्तर चल्ने उहाँको भनाइ थियो ।

सञ्चालक बनमालाले संस्थाको भविष्यको योजनाबारे जानकारी दिँदै २०८५ सालसम्म आफ्नै भवन निर्माण गरी तालिमका कार्यक्रमहरूलाई थप विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यता प्राप्त यस संस्थाले विगत लामो समयदेखि भक्तपुरमा सीपमूलक शिक्षा प्रदान गर्दै आएको छ । स्कुलले कम्प्युटर अपरेटर, हार्डवेयर तथा मर्मत, मोबाइल रिपेरिङ, इन्टेरियर डिजाइन, ब्युटिसियन, स्काउट तथा परम्परागत बाजागाजा लगायतका विषयमा तालिम दिँदै आएको छ ।