हुम्लाको कर्णाली नदीमा डुबेर दुई बालबालिका बेपत्ता

काठमाडौ, भदौ ४ । हुम्लाको खार्पुनाथ गाउँपालिका १ स्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुईजना बालबालिका बेपत्ता भएका छन् । मंगलबार बिहान करिब ११ बजेतिर सुनाखाडास्थित नदी किनारमा नुहाउन गएका उनीहरूलाई नदीको तीव्र बहावले बगाएको हो ।

बेपत्ता हुनेहरूमा खार्पुनाथ १, तल्लो लालीका १३ वर्षीय प्रशान्त रावल र ११ वर्षीया अनु शाही रहेका छन् । प्रशान्त स्थानीय रामचन्द्र रावलका छोरा हुन् भने अनु बृख शाहीकी छोरी हुन् । उनीहरू दुवै स्थानीय मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता युवराज ढकालका अनुसार बालबालिका बेपत्ता भएको खबर प्राप्त हुनासाथ खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ । खाना खाएर नदीमा नुहाउन गएका बेला उनीहरू अचानक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

स्थानीय वडाध्यक्ष जयबहादुर शाहीले घटनाको पुष्टि गर्दै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले नदी किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान जारी राखेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) शङ्कर खड्काले नदीमा पानीको बहाव उच्च रहेकाले खोजी कार्यमा केही कठिनाइ भइरहेको बताउनुभयो । यद्यपि, उपलब्ध स्रोत र साधनको प्रयोग गरी खोजी कार्यलाई तीव्रता दिइएको उहाँले उल्लेख गर्नुभयो ।