डीएलएको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको उम्मेदवारी घोषणा; भदौ १९ र २० मा बुटवलमा महाधिवेशन

भक्तपुर, ४ भदौ । नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) नेपालको आसन्न १२औँ केन्द्रीय महाधिवेशनमा अधिवक्ता रविन्द्र प्रधानले केन्द्रीय महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । भक्तपुर जिल्ला बार एसोसिएसनका पूर्वअध्यक्ष प्रधानले सङ्गठन सुदृढीकरण र कानुन व्यवसायीको हकहितका लागि उम्मेदवारी दिने निर्णय लिनुभएको हो ।

डीएलएको १२औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ १९ र २० गते रूपन्देहीको बुटवलमा आयोजना हुँदैछ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको यस महाधिवेशनमा देशभरका विभिन्न ७४ वटा ईकाइबाट करिब १ हजार ४ सय प्रतिनिधिहरू सहभागी हुनेछन् ।

महासचिवका उम्मेदवार प्रधानले संस्थालाई गुटबन्दी र बाह्य हस्तक्षेपबाट मुक्त राख्दै पूर्णतः लोकतान्त्रिक र पारदर्शी बनाउने सङ्कल्प गर्नुभएको छ । उहाँले स्वतन्त्र न्यायपालिकाको रक्षा, सङ्गठनलाई प्रविधिमैत्री बनाउने र कानुन व्यवसायीहरूको पेसागत मर्यादा एवं सुरक्षालाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउनुभएको छ ।

लामो समयदेखि वकालत पेसामा सक्रिय प्रधान सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका क्षेत्रमा प्रखर रूपमा उभिँदै आउनुभएको छ । समाजमा व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध इजलासदेखि सडकसम्म जुझारु रूपमा प्रस्तुत हुने उहाँको कार्यशैलीका कारण देशभरका प्रजातन्त्रवादी कानुन व्यवसायीहरूमा नयाँ उत्साह थपिएको उहाँका शुभेच्छुकहरूको दाबी छ ।

अधिवक्ता प्रधानको उम्मेदवारीलाई कानुन व्यवसायीहरूले व्यावसायिक सुरक्षा र कानुनी क्षेत्रको सुधारका लागि एउटा महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन् । डीएलएको गरिमालाई थप उँचो बनाउन अनुभवी र सामाजिक सरोकार बुझेको नेतृत्व आवश्यक रहेको भन्दै उहाँका समर्थकहरूले उहाँको पक्षमा माहोल सिर्जना गर्न सुरु गरिसकेका छन् । तस्बिर -प्रेमध्वज लामा ।