चुमभ्यालीको ‘सुनौलो’ फसल : ११ महिनाको प्रतीक्षा र साइत पछिको खुसी

काठमाडौँ, भदौ ६ । तिब्बतको सिमानासँग जोडिएको गोरखाको विकट तर सुन्दर उत्तरी क्षेत्र, चुमभ्याली । जहाँ हिउँसँग पौँठेजोरी खेल्दै हुर्किएका गहुँका बालाहरू यतिबेला सुनौला भएर झुलिरहेका छन् । यो कुनै सामान्य उब्जनी होइन, चुमभ्यालीका किसानको ११ महिनाको धैर्य, पसिना र वर्षभरिको गाँस जोडिएको एउटा ‘उत्सव’ हो।

समुद्र सतहदेखि ३ हजार ३०० देखि ३ हजार ५०० मिटरको उचाइमा रहेको चुमनुब्री गाउँपालिका ७ का किसानहरूलाई यतिबेला आफ्नो वर्षदिनको मेहनत घर भित्र्याउन भ्याइनभ्याइ छ । अन्य ठाउँमा गहुँ पाक्न ६ महिना लाग्छ, तर यहाँको भूगोल र चिसो हावापानीका कारण एउटा गहुँको दाना छिप्पिन ११ महिना कुर्नुपर्छ। गत असोजमा छरिएको बीउ साउनको अन्तिम र भदौको पहिलो साता मात्र काट्न योग्य हुन्छ ।

आस्था र परम्पराको फन्को
चुमभ्यालीको खेतीपाती केवल श्रमसँग मात्र होइन, गहिरो धार्मिक आस्थासँग पनि जोडिएको छ। यहाँ बाली काट्नुअघि स्थानीय लामा (धर्मगुरु) बाट ‘साइत’ जुराउने परम्परा छ । “साइत हेराएर बाली भित्र्याएमा घरमा सहकाल रहने र अन्नको बरकत हुने हाम्रो विश्वास छ,” स्थानीय प्रमुख लामा पासाङ फुञ्जो भन्नुहुन्छ ।

यहाँका गाउँहरू, छेकम, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, पाङदुन, छुले र निलेमा एकैपटक बाली काटिँदैन। पालो लगाएर एउटा गाउँको सकेर अर्को गाउँमा जाने चलन छ । भौगोलिक रूपमा गाउँहरू टाढा भए पनि गाउँलेहरू चार घण्टासम्मको पैदल यात्रा गरेर एकअर्काको खेतबारीमा काम सघाउन पुग्छन् । यो सामूहिक एकता र ‘पर्म’ प्रथाले चुमभ्यालीको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।

फेरिँदै खेती शैली
विस्तारै आधुनिकताले हिमाली गराहरूलाई पनि छुन थालेको छ । १० वर्षअघिसम्म हातैले गहुँ काट्ने र कुट्ने किसानहरू अहिले मेसिनतर्फ आकर्षित भएका छन् । तिब्बती बजारबाट ल्याइएका मेसिनहरू अहिले चुमभ्यालीका प्रायः प्रत्येक घरमा देखिन्छन् । वडाध्यक्ष टासी दोर्जे लामाका अनुसार मेसिनको प्रयोगले काममा सहजता त ल्याएको छ । तर काम गर्ने शैली भने उही पुरानै छ, पुरुषहरू गहुँ काट्ने र कुट्ने, अनि महिलाहरू केलाउने र थन्क्याउने ।

शुद्ध र बहुउपयोगी उब्जनी
चुमभ्यालीमा वर्षमा एकपटक मात्र बाली लाग्छ । गहुँ र फापरको आलोपालो (बालीचक्र) मिलाएर गरिने यहाँको खेती पूर्ण रूपमा प्राङ्गारिक मानिन्छ। त्यसैले त यहाँको गहुँ र फापरको माग काठमाडौँदेखि विदेशमा रहेका लामा गुरुहरूसम्म पुग्ने गरेको छ ।

स्थानीयका लागि यो गहुँ केवल ढिँडो र रोटीको स्रोत मात्र होइन। यो त उनीहरूको संस्कृति र जीवनशैलीको अभिन्न हिस्सा हो। गहुँबाट बनाइने ‘चम्पा’ (सातु) यहाँको मुख्य खाजा हो। त्यस्तै, याक र नाकका लागि दाना र विशेष उत्सवहरूमा बनाइने घरेलु मदिराका लागि पनि यही गहुँ मुख्य आधार हो ।

अहिले चुमभ्यालीमा गहुँ काट्ने चटारो सकिनै लागेको छ। लगत्तै फापर र तोरी काट्ने अर्को कामको चाङ थपिनेछ । ११ महिनाको प्रतीक्षापछि पाकेको यो गहुँले स्थानीयको भकारी मात्र भर्दैन, जाडोयामको कठिन समयमा बाँच्ने आधार र नयाँ आशा पनि सञ्चार गर्छ ।