बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापासहित सात सदस्यीय मन्त्रिमण्डलद्वारा शपथ ग्रहण
काठमाडौ, भदौ ४ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई शपथ गराउनुभएको हो ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले) का प्रदेशसभा सदस्य थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अल्पमतमा परेपछि पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो । थापाले नेकपा (एमाले), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुखले आजै अन्य ६ जना मन्त्रीलाई समेत नियुक्त गरी शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्रीहरू र उनीहरूको कार्यविभाजन निम्नअनुसार रहेको छ ।
१. भरत केसी (एमाले) : भौतिक पूर्वाधार विकास मन्त्रालय
२. सरल सहयात्री पौडेल (नेकपा) : आर्थिक मामिला तथा योजना मन्त्रालय
३. राजु विष्ट (राप्रपा) : खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
४. गिरबहादुर तामाङ : स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय
५. राजेन्द्र प्रजापति : उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय
६. ज्ञानबहादुर तामाङ (एमाले) : बिना विभागीय मन्त्री
बागमती प्रदेशमा हाल आठवटा मन्त्रालय कायम रहेका छन् । बिना विभागीय मन्त्रीका रूपमा शपथ लिनुभएका ज्ञानबहादुर तामाङको मन्त्रालय केही दिनमा टुङ्गो लगाइने मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ । यस्तै, रिक्त रहेका अन्य मन्त्रालयहरूमा नियुक्ति गरी छिट्टै सरकारलाई पूर्णता दिने तयारी गरिएको छ ।