सरकारसँग १४ बुँदे सहमति भएपछि लघुवित्त ऋणीहरू घर फर्किए
काठमाडौँ, ७ भदौ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन् ।
नेपाल सरकार र आन्दोलनरत ऋणीका प्रतिनिधिबीच शनिबार (भदौ ६ गते) भएको वार्तामा १४ बुँदे सहमति जुटेसँगै धर्नाका कार्यक्रमहरू स्थगित गरिएको हो । सहमतिपश्चात् सरकारले आज बिहान साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ ।
विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ । घर फर्किनेहरूमा झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका नागरिकहरू रहेका छन् ।
विगत लामो समयदेखि आफ्ना माग सम्बोधनका लागि काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका उनीहरू सरकारसँगको ठोस सहमतिपछि गृहजिल्ला फर्किएका हुन् ।