वैदेशिक रोजगारीबाट फर्किएका मोरङ लक्ष्मीमार्गका युवा सुकुटी व्यवसायमा सफल

मोरङ, ७ भदौ । कुनै समय वैदेशिक रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका मोरङको लक्ष्मीमार्गका युवाहरूले स्वदेश फर्किएर आफ्नै थातथलोमा सुकुटी व्यवसायमार्फत व्यावसायिक सफलता प्राप्त गरिरहेका छन्। उनीहरूले सुरु गरेको राँगाको सुकुटी व्यवसायले अहिले लक्ष्मीमार्गको पहिचान नै बद्लेर ‘सुकुटी बजार’ का रूपमा स्थापित गरिदिएको छ।

कतारमा छ वर्ष बिताएर फर्किनुभएका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गर्नुभएका दिलीप श्रेष्ठ यस व्यवसायका उदाहरणीय पात्र हुनुहुन्छ। सुरुका दिनमा मासिक २०–३० किलो सुकुटी बिक्री गर्न कठिन हुने गरेकामा अहिले उहाँहरूको पसलबाट मासिक सयौँ किलो सुकुटी बिक्री हुने गरेको छ।

प्रतिकिलो रु दुई हजार ७०० मा बिक्री हुने सुकुटीबाट मासिक रु दुई लाखसम्म आम्दानी भइरहेको व्यवसायी प्रेम श्रेष्ठले बताउनुभयो। उहाँले स्थानीय बेलबारी र हरैचा बजारबाट प्रतिकिलो रु ७०० मा राँगाको आलो मासु खरिद गरी सुकुटी बनाउने गर्नुभएको छ। आलो मासुको बढीमा एक चौथाइसम्म मात्र सुकुटी बन्ने उहाँको अनुभव छ।

लक्ष्मीमार्गका अन्य युवाहरू पनि यो व्यवसायमा आकर्षित भएका छन्। वैदेशिक रोजगारीबाट फर्केर विगत ११ वर्षदेखि सुकुटी व्यवसायमा जम्नुभएका शोभितमान श्रेष्ठले भन्नुभयो, “विदेशमा बगाउने पसिना र परिवारबाट टाढा हुनुको पीडाभन्दा आफ्नै घरमा परिवारसँगै बसेर गरेको यो व्यवसायले धेरै सन्तुष्टि दिएको छ।”

पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूका लागि लक्ष्मीमार्ग अहिले सुकुटीको स्वाद लिने मुख्य थलो बनेको छ। स्वदेशी बजारमा मात्र नभई यहाँ उत्पादित सुकुटी कोसेलीका रूपमा बेलायत र अमेरिकामा रहेका नेपालीसम्म पुग्ने गरेको व्यवसायी दिलीप श्रेष्ठले जानकारी दिनुभयो। यद्यपि, परम्परागत निर्माण शैली र जनशक्तिको अभावका कारण अन्तर्राष्ट्रिय बजारको मागअनुसार सुकुटी पुर्‍याउन चुनौतीपूर्ण रहेको व्यवसायीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *