आईएसएफ फुटबल विश्वकपमा सहभागी हुन नेपाली टोली चीन जाँदै
३७२ खेलाडीबाट छनोट गरिएका २० खेलाडीले अक्टोबर १७ देखि २६ सम्म चीनमा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
काठमाडौँ, २९ असोज। आईएसएफ फुटबल विश्वकपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ। प्रतियोगिता अक्टोबर १७ देखि २६ (असोज ३१ देखि कात्तिक ९ गते) सम्म सञ्चालन हुनेछ।
नेपाली टोलीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङ्बो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अन्शुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्चल थापा, कृष्णा गुरुङ, कृयाश सापकोटा, तेन्जिङ शेर्पा, आइज्याक शाही र आर्गेन तुलाधर छन्।
टोलीमा १६ देखि १८ वर्ष उमेर समूहका खेलाडी सहभागी छन्। टोली नेतामा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घका कार्यकारी समिति सदस्यसमेत रहेका विद्यालय खेलकुद महासङ्घका महासचिव राजकुमार कार्की छन्।
त्यस्तै, अफिसियलमा आईएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ, रामकृष्ण महर्जन, पशुपति अधिकारी, भूवनलाल श्रेष्ठ, सोविनराज रेग्मी र सुमिद भट्टराई छन्। टोलीका प्रशिक्षकमा थमन भुसाल र सन्तोष न्यौपाने रहेका छन्।
महासचिव कार्कीका अनुसार छनोट प्रतिस्पर्धामार्फत खेलाडी छनोट गरिएको हो। छनोटमा ३७२ खेलाडी सहभागी भएकामा पहिलो चरणमा ४० जना छनोट गरिएको र त्यसपछि अन्तिम चरणमा २० खेलाडी चयन गरिएको उहाँले बताउनुभयो।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य मोनालिसा खम्बूलगायतले बिहीबार बिदाइ गर्नुभयो।
