खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ घण्टा बन्द
सङ्खुवासभा, ६ असोज । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ घण्टा यातायातका लागि बन्द गरिएको छ।
सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलका अनुसार सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डको करिब १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा चौडा गर्न यातायात बन्द गरिएको हो।
कार्यालयका अनुसार खाँदबारीबाट सभाखोलासम्मको सडकखण्ड कालोपत्रे तथा चौडा गर्न असोज ६ गतेदेखि ३० गतेसम्म यातायात बन्द गरिएको छ। निमित्त प्रमुख मण्डलका अनुसार उक्त सडकखण्डमा बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरी दैनिक नौ घण्टा सडक चौडा गर्न यातायात सञ्चालनमा रोक लगाइएको छ।
समयमै काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीको आग्रहमा यातायात बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। निषेधित समयमा यातायातका साधनले वैकल्पिक सडक प्रयोग गर्न सक्ने बताइएको छ। उक्त सडकखण्ड बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो।
