डोल्पाकाे जुफालमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटना, १३ यात्रु सकुशल
काठमाडौँ, ८ असोज । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। बिहीबार बिहान ८ः२५ बजे नेपालगञ्जबाट डोल्पा पुगेको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएपछि दुर्घटना भएको हो।
डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईका अनुसार अवतरण गर्ने क्रममा जहाजको एउटा पाङ्ग्रा खुस्किएको थियो। दुर्घटनाबाट जहाजमा सामान्य क्षति पुगे पनि जहाजमा सवार सबै यात्रु सकुशल छन्।
जहाजमा चालक दलसहित १३ जना यात्रु रहेको बताइएको छ। यात्रुमध्ये ११ जना पुरुष र ७ जना विदेशी नागरिक रहेको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईले जानकारी दिए।
घटनापछि प्राविधिक टोलीले जहाजको अवस्था तथा दुर्घटनाको कारणबारे जाँच गरिरहेको छ। प्राविधिक परीक्षणपछि जहाजको थप अवस्था र उडान सञ्चालनबारे निर्णय हुने जनाइएको छ।
